काठमाडौं– नेपाल नामिबियामा जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा स्कटल्याण्डसँग पराजित भएको छ।
आइतबार राति भएको खेलमा नेपाल ब्याटिङ र बलिङ दुवैमा खराब प्रदर्शन गरेपछि स्कटल्याण्डसँग तीन विकेटले पराजित भएको हो।
नेपालले दिएको १३८ रनको लक्ष्य स्कटल्याण्डले ३२.१ ओभरमा ७ विकेटको क्षतिमा १४३ रन जोड्दै पूरा गरेको हो।
स्कटल्याण्डका लागि क्रिस्टोफर म्याकब्राइडले सर्वाधिक ४३, ब्राण्डन म्याकमुलेनले अविजित ३२, माइकल लेस्कले २२, जर्ज मुन्सेले १७ र म्याथ्यु क्रसले १३ रन बनाएपछि नेपाल पराजित हुन पुग्ये।
नेपालका सागर ढकाल, गुल्सन झा र ललित राजवंशीले २–२ तथा दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए।
यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले ४०.१ ओभरमा सबै विकेटको क्षतिमा १३७ रन बनाएको थियो।
नेपालका लागि गुल्सन झाले २९, ज्ञानेन्द्र मल्लले २५, ओपनर अर्जुन साउदले १८, कप्तान रोहित पौडेलले १७ र आरिफ शेखले १० रन बनाउनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंको रनसमेत जोड्न सकेनन्।
बलिङमा स्कटल्यान्डका चरिस सोलले ३, मार्क वाटले २ तथा ब्रान्डन म्यामुलेन, सफायन सरिफ र मिचेल लिस्कले १–१ विकेट लिए।
यसअघि शुक्रबार नेपाल र नामिबियाको खेल वर्षाका कारण बीचमै रोकिएपछि दुवै टोलीले १–१ अंक बाँडेका थिए।
सात टोली सहभागी लिग–२ मा नेपाल अहिले २२ खेलबाट १८ मात्र अंकजोडेर छैटौँ स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।