काठमाडौं– नेकपा माओवादीको पदाधिकारी बैठक बस्ने भएको छ। शनिबार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको माओवादी केन्द्रका कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए।
उनका अनुसार बैठकका लागि दुई अजेन्डा तय गरिएका छन्। पहिलो, बैठकमा मंसिर ४ को निर्वाचनको अहिलेसम्म आएका नतिजाको समीक्षा गरिनेछ। दोस्रो, आगामी सरकार गठनका सन्दर्भमा भइरहेका पहल र प्रयत्नका सन्दर्भमा पनि छलफल गरिनेछ।
प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ माओवादीले १७ सिट जितिसकेको छ। त्यस्तै, एक सिटमा अग्रता लिएको छ। समानुपातिकतर्फ ऊ तेस्रो भइरहेको छ।
२०७४ को निर्वाचनमा प्रत्यक्षतर्फ माओवादीले ३६ सिट जितेको थियो। समानुपातिकतर्फ भने १७ सिट जितेको थियो। यसपटक उसको सिट संख्या घटेको छ।
माओवादीको पदाधिकारी २१ सदस्यीय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।