काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘समाजवाद’ छाता ओढ्न मात्रै काम लागेको टिप्पणी गरेका छन्। संविधानमै समाजवाद भने पनि १ वर्षमा के र ५ वर्षमा के भन्ने स्पष्ट नभइ प्रगति नहुने थापाको भनाइ छ।
आर्थिक पत्रकाहरुको संस्था सेजनको वार्षिकोत्सवमा आयोजित छलफलमा भाग लिँदै उनले भने, ‘मैले कहीँ सुनेको समाजवाद सवैभन्दा बढी मान्छेलाई झुक्याउन काम लाग्छ। म त समाजवादी हो, म त समाजवादको बाटोमा छु भन्यो सकियो। यसमा खुलेर बहस गर्नु नपर्ने। यो संविधानमा छ। छाडिदिउँ यसलाई।’
उनले समाजवाद मान्छेलाई उम्किने बाटो भएको टिप्पणी गरे। उनले भने, ‘अब ५ वर्षमा के गर्ने भनेर छलफल गर्ने बेला भएको छ। म त समाजवादी भनेर खुला छलफलमा निजी क्षेत्रलाई परपर राख्ने, तर अँध्यारो कोठामा लेनदेन गर्ने प्रचलन छ।’
यसैगरी उनले सरकार कि बजार भन्नेले ठीक बाटोमा लिएर नजाने उल्लेख गरे। कहीँ सरकार र कहीँ बजार अघि हुनुपर्ने बताए। उनले थपे, ‘जस्तो स्वास्थ्य क्षेत्रमा सरसकारको भूमिका थप ब्यापक बनाउनुपर्छ। राज्यको भूमिका बढेन भने इन्स्योरेन्सले नै कंगाल बनाइदिन्छ।’
यसैगरी आयातमा गरिएको कडाइलाई आन्तरिक उत्पादन बढाउने मौकाका रुपमा उपयोग गर्नुपर्ने थापाको धारणा छ। आर्थिक पत्रकारहरुको संस्था सेजनको वार्षिकोत्सवमा बोल्दै उनले सरकार र सरोकारवाला एक ठाउँ बसेर यस विषयमा छलफल गर्नुपर्ने बताए।
उनले भने, ‘हामीले केही वस्तुको आयातमा कडाइ गरेका छौं। यो आन्तरिक उत्पादन बढाउने मौका हो। अहिले सबैले छुट्टा–छुट्टै पहल गरिरहेका छौं। त्यसैले आन्तरिक उत्पादन बढाउने कुरामा एक ठाउँमा बसेर छलफल गर्नुपर्छ।’
आयातमा गरिएको कडाइलाई पुन: मूल्याङ्कन गर्ने बेला भएकोतर्फ पनि उनले ध्यानाकर्षण गराए। उनले भने, ‘आयातमा गरिसएको कडाइले केही कुरामा सजिलो भएको छ। केहीमा अप्ठ्यारो परेको होला। अब त्यसलाई रिभ्यु गर्नुपर्ने बेला भएको छ। किनभने हाम्रो रेभिन्यु आयातमा आधारित छ। आयात बन्दले कहीँ न कहीँ त्यो चक्र टुट्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।