काठमाडौं– कतारमा जारी विश्वकप फुटबलमा अर्जेन्टिनाले मंगलबार राति पोल्याण्डविरुद्ध निर्णायक खेल खेल्दैछ। समूह ‘सी’मा रहेका यी दुई टोलीबीचको खेल मध्यराति १२ः४५ बजे हुनेछ।
समूह चरणको तेस्रो खेल भएकाले यो खेलमा दुई पटकको विश्वकप विजेता अर्जेन्टिनाले बैजनी रङको ‘अवे जर्सी’ लगाउने अर्जेन्टिनी फुटबल संघले जनाएको छ।
यसअघिका दुई खेलमा भने अर्जेन्टिनाले निलो र सेतो धर्का भएको परम्परागत होम जर्सी लगाएको थियो। विश्व फुटबल महासंघ (फिफा)को नियमअनुसार समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले अवे जर्सी लगाउन लागेको हो।
समूह ‘सी’मा रहेको दुई पटकको विजेता अर्जेन्टिनालाई समूह चरण पार गर्न चर्को दबाब छ। पहिलो खेल साउदी अरेबियासँग हारेपछि अर्जेन्टिना चर्को दबाबमा आएको हो। दोस्रो खेलमा भने मेक्सिकोलाई २–० गोलले हराएपछि अर्को चरणको आशा अर्जेन्टिनाले बाँकी नै राखेको छ।
यो समूहबाट ४ अंकसहित पोल्याण्ड शीर्ष स्थानमा छ। अर्जेन्टिना र साउदी अरेबियाको समान ३–३ अंक छ। मेक्सिकोको भने १ अंक छ।
यी चारै टोलीको अर्को चरण प्रवेशको सम्भावना कायमै छ। अर्को चरणमा प्रवेश गर्नका लागि आफ्नो अन्तिम खेलमा पोल्याण्डलाई हराउनैपर्ने अवस्थामा अर्जेन्टिना छ। पोल्याण्डविरुद्ध जित ननिकालेको अवस्थामा भने साउदी अरेबिया र मेक्सिकोको नतिजामा भर पर्नुपर्ने अवस्थामा अर्जेन्टिना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।