काठमाडौं– सन् २००२ मा जापान र दक्षिण कोरियामा भएको विश्वकप फुटबल प्रतियोगितामा गाब्रियल बाटिस्टुटाप्रेरित अर्जेन्टिना प्रमुख दाबेदार थियो। दक्षिण अमेरिकी छनोटमा ब्राजिललाई उछिनेको अर्जेन्टिनाको टिम पनि ब्यालेन्समा थियो। एकसे एक नाम चलेका खेलाडी थिए।
तर, इंग्ल्याण्ड, स्विडेन र नाइजेरिया भएको समूहमा रहेको अर्जेन्टिना अनेपेक्षित रुपमा पहिलो चरणबाटै घर फर्कियो। पहिलो खेल नाइजेरियालाई जित्नका बाबजुद अन्तिम खेलमा बराबरी गर्नाले अर्जेन्टिना बाहिरिएको थियो। दोस्रो खेलको नतिजा भने अर्जेन्टिनाले इंग्ल्याण्डलाई सुम्पेको थियो।
अहिले कतारमा जारी विश्वकपमा लियोनल मेसीप्ररित अर्जेन्टिनाको अवस्था पनि उस्तै छ। विश्वकप खेल्न कतार जानुअघि दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिना प्रमुख दाबेदारमध्ये एक थियो। तर, पहिलो खेल नै तुलनात्मक धेरै कमजोर साउदी अरेबियासँग हार्न पुग्यो।
यसर्थ, समूह ‘सी’मा रहेको अर्जेन्टिनालाई समूह चरण पार गर्न चर्को दबाब छ। पहिलो खेल साउदी अरेबियासँग हारेपछि अर्जेन्टिना चर्को दबाबमा आएको हो। दोस्रो खेलमा भने मेक्सिकोलाई २–० गोलले हराएपछि अर्को चरणको आशा अर्जेन्टिनाले बाँकी नै राखेको छ।
यो समूहबाट ४ अंकसहित पोल्याण्ड शीर्ष स्थानमा छ। अर्जेन्टिना र साउदी अरेबियाको समान ३–३ अंक छ। मेक्सिकोको भने १ अंक छ।
यी चारै टोलीको अर्को चरण प्रवेशको सम्भावना कायमै छ। अर्को चरणमा प्रवेश गर्नका लागि आफ्नो अन्तिम खेलमा पोल्याण्डलाई हराउनैपर्ने अवस्थामा अर्जेनिन्टना छ। पोल्याण्डविरुद्ध जित ननिकालेको अवस्थामा भने साउदी अरेबिया र मेक्सिकोको नतिजामा भर पर्नुपर्ने अवस्थामा अर्जेन्टिना छ।
यद्यपि, मेक्सिकोसँग क्रुसल खेलमा कप्तान मेसी चम्किएपछि अर्जेन्टिनाको मनोबल बढेको छ। उनले एक गोल र एक एसिस्ट गरेका थिए। यसर्थ, २००२ मा भोगेको नियति नदोर्याउने मनसायमा अर्जेन्टिना देखिन्छ।
कतारमा जारी विश्वकपमा बुधबार राति ४ खेल हुँदैछन्। समूह चरणको अन्तिम प्रतिस्पर्धाअन्तर्गत ४ खेल हुने भएका हुन्।
पहिलो खेल समूह ‘डी’ का ट्युनिसिया भर्सेस फ्रान्स र अस्ट्रेलिया भर्सेस डेनमार्कबीच हुँदैछ। यो खेल राति ८ः४५ बजे हुनेछ।
यो समूहबाट सुरुका दुई खेल खेल्दै फ्रान्स नकआउट चरणमा पुगिसकेको छ। बाँकी तीनवटै टोलीको अर्को चरण पुग्ने सम्भावना भने कायमै छ। अस्ट्रेलिया ३, डेनमार्क र ट्युनिसियाको समान १–१ अंक छ।
यस्तै, समूह ‘सी’का पोल्याण्ड भर्सेस अर्जेन्टिना र साउदी अरेबिया भर्सेस मेक्सिकोबीच हुँदैछ। यो खेल राति १२ः४५ बजे हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।