विराटनगर- चाडपर्वसँगै विराटनगरमा तरकारीको मूल्यमा दोब्बर वृद्धि भएको छ।
विराटनगर बजारमा खपत हुने अधिकांश तरकारी मोरङको पूर्वी र दक्षिणी क्षेत्रका साथै सुनसरीको देवानगञ्जबाट आउने गर्छ तर उक्त क्षेत्रमा भदौ महिनामा आएको बाढीले खेती डुबानमा परेपछि तरकारीको उत्पादनमा कमी भई मूल्यमा वृद्धि भएको हो।
कम उत्पादनका कारण उपभोक्ता दोब्बर मूल्यमा तरकारी किन्न वाध्य भएका छन्। तरकारीखेती हुने क्षेत्र डुबानमा परेर उत्पादनमा कमी आउनु र विराटनगरसँगको भारतीय सीमावर्ती क्षेत्र जोगबनीस्थित मीरगञ्जमा पुल भत्केकाले आयातमा आएको कमीले तरकारीको मूल्य बढेको तरकारी व्यापारी बताउँछन्।
नेपालको पहाडी क्षेत्र र भारतबाट आयात गरेर व्यावसायीले विराटनगर बजारमा तरकारीको आपूर्ति गर्दै आएका छन्। पहाडी जिल्लाबाट आयात गर्दा ढुवानी खर्च वृद्धि हुने र भारतबाट पनि तरकारी आयातमा आएको कमीले गर्दा मूल्यवृद्धि भएको तरकारी व्यवसायीहरुको भनाइ छ।
बाढी आउनुअघि प्रतिकिलो २५ रुपैयाँ पर्ने प्याज अहिले ५० रुपैयाँ पुगेको छ। यस्तै, ३० रुपैयाँ किलो पर्ने आलु ६० रुपैयाँ पुगेको छ। ४० रुपैयाँ प्रतिकिलो पर्ने गोलभेँडा ६० देखि ७० रुपैयाँ, ५० रुपैयाँ प्रतिकिलो पर्ने रामतोरिया ८० रुपैयाँ, प्रतिकिलो २५ रुपैयाँमा पाइने घिरौँला ४० देखि ५० रुपैयाँ, ३० रुपैयाँ प्रतिकिलो पाइने काँक्राको मूल्य अहिले ६० रुपैयाँ पुगेको छ।
यस्तै, प्रतिकिलो २५ रुपैयाँमा पाइने प्याज ५० र ७० रुपैयाँ पर्ने फूलकोभी १२५ रुपैयाँमा किन्नुपरेको सर्वसाधारणले गुनासो गरेका छन्।
बजारमा तरकारीको मूल्य वृद्धिले आफूले अन्य सामानको बजेट घटाई, तरकारीमा खर्च गर्नुपरिरहेको विराटनगर–९ का गृहिणी विद्या पाण्डेले बताइन्।
विराटनगर बजारमा दैनिक २५ देखि ३५ टन हरियो तरकारी बिक्री हुने गरेको तरकारी व्यवसायीहरु बताउँछन्।
माग अनुसार आपूर्ति हुन नसकेपछि व्यापारीले आफूखुसी तरकारीको मूल्य बढाएको र बजार अनुगमन प्रभावकारी नहुँदा चर्को मूल्य तिर्न वाध्य भएको उपभोक्ताको गुनासो छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।