काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। अनधिकृत संरचना भत्काउने काम सरकारले गर्नुपर्ने तर नगरेको साथै महानगरले अग्रसरता लिएर काम गर्दा पनि सरकार मौन बसेको भन्दै मेयर बालेन प्रधानमन्त्रीलाई नै भेट्न सोमबार बालुवाटार गएका हुन्।
प्रधानमन्त्री देउवालाई भेट्न मेयर बालेनले बालुवाटारमा धेरैबेर कुर्नुपरेको उनका स्वकीय सचिव भूपदेव शाहले गुनासो गरेका छन्।
‘सरकारले महानगरलाई अहिलेसम्म अनधिकृत रूपमा बसोबास गरिरहेका बस्ती किन महानगरले खाली नगरेको भन्नपर्ने हो। तर महानगरले आफैँ अग्रसरता देखाउँदा सरोकारवाला मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी बलहरू र सम्बद्ध निकाय किन मौन?’, देउवालाई भेट्न प्रधानमन्त्री निवास पुगेको फोटो सामाजिक सञ्जालमा पोस्ट गर्दै बालेनका स्वकीय सचिव शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सोको जानकारी लिन मेयरज्यू प्रधानमन्त्रीलाई भेट्न प्रम निवास बालुवाटारमा निकै समय कुरेर भेट्नको लागि प्रतीक्षा गर्दै।’
मेयर बालेनले साढे ४ बजे बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई भेटेका थिए। भेटका क्रममा प्रधानमन्त्री देउवा बागमती नदी किनारमा रहेको बस्ती हटाउनका लागि सकारात्मक रहेको उनको सचिवालयले जनाएको छ।
यसैबीच, मेयर बालेनले ‘बालेन शाहको ज्यान खतरामा हुन्छ’ भनेर स्थानीयले आक्रोश व्यक्त गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। उक्त पोस्टमा बालेन लेख्छन्, ‘देशमा गृह मन्त्रालय, प्रहरी प्रशासन, शान्ति सुरक्षा छ कि छैन, देशको राजधानीमा खुलेआम आतंकवाद हुँदा केन्द्र सरकार के हेरेर बसेको छ?’
काठमाडौं महानगरका मेयर बालेन सोमबार सुकुम्बासीको आक्रमणबाट घाइते भएका नगर प्रहरीलाई भेट्न अस्पताल पनि पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।