काठमाडौं- निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई अध्यक्षले मत माग्नु स्वभाविक नै हो। त्यसका लागि सान्दर्भिक भाषा प्रयोग गर्नु पनि स्वभाविकै हो। त्यस्तै, पार्टीले जित्ने लक्ष्य राख्नु, त्यसका लागि मतदाताले विश्वास गर्ने भाषा प्रयोग गर्नु र अन्य आवश्यक रणनीति अख्तियार गर्नु पनि स्वभाविक नै हो।
तर यसपटकको चुनाव त्यतिमै सीमित भएन। दुईतर्फी गठबन्धन बनेका कारण अर्को पार्टीका उम्मेदवारलाई पनि मत माग्नुपर्ने स्थिति आइपर्यो। र त्यसका लागि मतदातालाई विश्वस्त बनाउनुपर्ने आवश्यक पनि उत्पन्न भयो।
त्यसै क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वमा गठन भएको गठबन्धनका उम्मेदवारलाई मत मागे। दुई उम्मेदवारको हकमा भने सार्वजनिक रुपमै ‘इज्जतको दाउ’ लगाएका थिए।
चुनावी प्रचारप्रसारको क्रममा गत कात्तिक ११ गते झापा-३ मा आयोजित एमाले-राप्रपा सभामा ओलीले राप्रपा उम्मेदवार राजेन्द्र लिङ्देनलाई जिताउन कार्यकर्तालाई अपिल गरे।
झापा- ५ मा राप्रपाले आफूलाई सघाएको र झापा- ३ मा आफूले राप्रपालाई सघाउनुपर्ने बाध्यतामा रहेका ओलीले सार्वजनिक मञ्चबाटै एमालेको इज्जतका लागि लिङ्देनलाई जिताउनुपर्ने बताएका थिए।
चुनावी परिणामले एमालेको ‘इज्जत’ छ। झापा-३ मा लिङ्देनले कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौलालाई पराजित गरे। अन्तिम मत परिणाममा लिङ्देनले ४० हजार ६४८ मत ल्याए। त्यस्तै, सिटौलाले भने ३७ हजार ३७२ मत पाए। सिटौला २०७४ मा पनि लिङ्देनसँगै पराजित भएका थिए।
ओलीले इज्जतको दाउ लगाएका अर्का व्यक्ति हुन्, जसपाका उम्मेदवार अशोककुमार राई। एमालेले जसपासँग पनि गठबन्धन गरेको थियो। र जसपाबाट राई सुनसरी- १ बाट उम्मेदवार बनेका थिए। उनलाई जिताउनुपर्ने ओलीले सार्वजनिक अभिव्यक्ति दिएका थिए। उनले कात्तिक २५ र ३० गतेको सम्बोधनमा अशोक राईलाई जिताउने बताएका थिए।
कात्तिक २५ गते धरानमा आयोजित सभामा उनले राईले नजिते एमालेको बेइज्जत हुने बताएका थिए। उनले भनेका थिए, ‘एमालेले समर्थन गरेँ भन्यो, एमालेले भोट दिन्छु भन्यो, एमालेले सांसद बनाउँछु भन्यो, फेरि बनाउन सकेन भने एमालेको बेइज्जती भएन? अब एमालेले त्यो बेइज्जती सहन सक्दैन। एमालेले जिताउँछु भनेपछि जिताउनुपर्छ। म एमालेका साथीहरुलाई रात दिन नभनेर काममा जुट्न र हाम्रा तीनवटै उम्मेदवारलाई अत्यधिक मतले विजयी गराउन आग्रह गर्न चाहन्छु।’
त्यस्तै, कात्तिक ३० गते उनले 'अशोक राईलाई हामी जिताएर छोड्छौं, त्यसमा तलमाथि हुँदैन' भनेका थिए। आज (सोमबार) सार्वजनिक अन्तिम मत परिणाममा राईले जित निकालेका छन्। उनले १७ हजार ५९ मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङले १६ हजार ६०६ मत पाइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।