काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको जितलाई आफ्नो पार्टीको इज्जतसँग तुलना गरेका छन्। शुक्रबार झापा– ३ मा एमाले–राप्रपाको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले लिङ्देनलाई जिताउन कार्यकर्तालाई अपिल गरे।
’एमालेले यस क्षेत्रमा राजेन्द्र लिङ्देनलाई, एमालेकै इज्जतका लागि जिताउनुपर्छ। एमाले नत्र के काम!’, ओलीको भनाइ थियो, ’र, एमाले एक थोक भन्ने र अर्कोथोक गर्ने पार्टी होइन।’
ओलीले एमालेले समर्थन गरेपछि उम्मेदवारले जित्नुपर्ने बताए।
’एमालेले ’आयुष्मान् भवः’ भनेपछि पनि बाँचेन भने के काम! चीरञ्जीवी भएस् भन्दा पनि लामो जीवन बाँचेन भने, बिरामी छ भने एमालेले निको भइगएस् भनेपछि निको भएन भने, चुनावमा उम्मेदवार उठेको छ र एमालेले विजयी भवः भन्दा पनि जित्दैन भने एमालेले समर्थन गरेको के काम लाग्यो?’, उनको भनाइ थियो।
हलोमा भोट हाल्न अप्ठ्यारो मान्ने कार्यकर्तालाई ओलीले सम्झाउने प्रयास पनि गरे।
’राप्रपालाई कसरी भोट दिने? हलोलाई कसरी भोट दिने?,’ कार्यकर्ताप्रति लक्षित गर्दै उनले भने, ’हलोलाई पनि भोट हाल्नुपर्छ किनभने देशद्रोहीहरु आउँछन् नत्र भने। देशद्रोहीहरुलाई छेक्न। कहिलेकहिले हलोमा पनि हाल्नुपर्छ। मुख्य कुरा गठबन्धन हराउने हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।