काठमाडौं– ३६ वर्षपछि पुनः विश्वकपमा सहभागी भएको क्यानडाले गोलको खडेरीलाई तोडेको छ। उसले विश्वकपमा डेब्यु गोल गरेको छ।
क्रोएसियाविरूद्ध जारी समूह ‘एफ’ तर्फको दोस्रो खेलमा क्यानडाका लागि मिडफिल्डर अल्फान्सो डेभिसले ऐतिहासिक डेब्यु गोल गरेका छन्।
उनले खेल सुरु भएको १ मिनट २० सेकेण्ड जाँदा बुचाननको लामो क्रसमा डिबक्सभित्रबाट हेडिङ गोल गरे।
विश्वकपमा डेभिसको मात्र होइन, क्यानडाको पनि पहिलो गोल थियो। सन् १९८६ मा पहिलो पल्ट विश्वकप खेलेको क्यानडाले समूह चरणको तीनवटै खेलमा कुनै गोल गर्न सकेको थिएन। उसले फ्रान्ससँग ०–१, हंगेरीसँग ०–२ र सोभियत संघ (रुस) सँग ०–२ गोल खाएको थियो।
कतारमा जारी विश्वकपको पहिलो खेलमा पनि उ बेल्जियमसँग ०–१ गोलले पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।