काठमाडौं– केलियन एम्बाप्पेको २ गोलको सहयोगले डेनमार्कलाई २–१ गोलले पराजित गर्दै फ्रान्स विश्वकपको समूह ‘डी’ बाट नकआउट चरणमा प्रवेश गरेको छ।
उसले पहिलो खेलमा अस्ट्रेलियालाई पनि ४–१ गोलले पराजित गरेको थियो। त्यतिबेला पनि एम्बाप्पेले गोल गरेका थिए।
शनिबार राती सम्पन्न खेलमा एम्बाप्पेले ६१ र ८६ मिनेटमा गरी दुई गोल गरे। उनलाई पहिलो गोलका लागि लेफ्ट ब्याक हर्नान्डेजले डिबक्सभित्र पास मिलाएका थिए। डेनमार्कले त्यसको ७ मिनेटभित्रै बराबरी गोल फर्काएको थियो। डेनिस टिमका लागि आन्द्रेस क्रिस्टेनसेनले गोल गरेका थिए। उनले इरिक्सनको कर्नर किकमा एन्डर्सनले मिलाइदिएको पासमा हेडिङ गोल गरेका थिए।
तर, ८६ मिनेटमा आन्टोन ग्रेजमनको लामो तथा सटिक पासमा डिबक्सभित्र रहेका एम्बाप्पेले अर्को गोल थप्दै आफ्नो टोलीको जितलाई सुनिश्चत पारेका थिए। एम्बाप्पेकाे विश्वकपमा याे सातौं गाेल थियो। उनले अघिल्लाे विश्वकपमा ४ गाेल गरेका थिए। दाेस्राे गाेलसँगै उनले अर्जेन्टिनाका लिओनल मेसी बराबर विश्वकपमा ७ गाेल पुर्याएका छन्।
यसअघि फ्रान्सले गोलका लागि थुप्रै प्रयास गरेको थियो। डेनमार्कसँगको जितसँगै फ्रान्सले २ खेलबाट ६ अंक जुटाउँदै नकआउट चरणमा प्रवेश गरेको छ।
डेनमार्कको १ अंक मात्र छ। अस्ट्रेलियाले अघिल्लो खेलमा ट्युनेसियालाई १–० ले पराजित गर्दै ३ अंक जोडेको छ। डेनमार्कलाई नकआउटमा प्रवेश गर्न अघिल्लो खेलमा अस्ट्रेलियालाई हराउनै पर्नेछ। नभए उसको नकआउट प्रवेश गर्ने सपना तुहिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।