काठमाडौं– कप्तान रोबर्ट लेवान्डोस्कीको प्रभावशाली खेलका कारण पोल्याण्डले जारी विश्वकपमा पहिलो जित सम्भव पारेको छ। साउदी अरेबियाविरुद्ध शनिबार सम्पन्न खेलमा लेवान्डोस्कीले विश्वकपमा पहिलो गोलको खाता मात्र खोलेनन्, उनले अर्को गोलका लागि पास पनि मिलाएका थिए।
राष्ट्रिय टोलीका लागि ७७ अन्तर्राष्ट्रिय गोल गरेका पोलिस कप्तानले यसअघि विश्वकपमा गोल गर्न सकेका थिएनन्। उनले मेक्सिकोविरुद्धको अघिल्लो खेलमा पनि पेनाल्टीबाट गोल गर्ने अवसर चुकाएका थिए।
पोल्याण्डका लागि पहिलो गोल पिटर झुलेनेस्कीले गरेका थिए। उनले ३९ मिनेटमा लेवान्डोस्कीले डिबक्सभित्र निकालेको पासमा गोल गरेका थिए।
पूर्वविश्व च्याम्पियन र यसपालिको विश्वकपको दाबेदार मानिएको अर्जेन्टिनालाई पहिलो खेलमा २–१ गोलले हराएर सनसनी मच्चाएको साउदी अरेबियाका लागि पहिलो हाफमा बराबरी गर्ने सुनौलो मौका जुरेको थियो। तर, ४५ मिनेटमा प्राप्त पेनाल्टीलाई साउदीका स्टार खेलाडी अल–दाउसारीले गोलमा परिणत गर्न सकेनन्। उनको पेनाल्टीलाई पोलिस गोलकिपर बोइसिख स्टेन्सनेक रोकेका थिए।
साउदीविरुद्धको खेलमा लेवान्डोस्की र गोलकिपर बोइसिख नायक थिए। बोइसिखले साउदीको आधा दर्जनभन्दा बढी प्रहारलाई निस्तेज पारेका थिए।
जितसँगै पोल्याण्डको दोस्रो चरणमा उक्लिने सम्भावना बलियो बनेको छ। उसले २ खेलबाट ४ अंक बटुलेको छ।
पोल्याण्डले अन्तिम खेल अर्जेन्टिनासँग खेल्नु पर्नेछ। यो समूहमा आज राती अर्जेन्टिना र मेक्सिको भिड्दैछन्। यी दुई राष्ट्रबीचको खेलले नकआउट चरणमा कुन टोली छनोट हुने हो, त्यसको तस्बिर केही स्पष्ट हुनेछ। अहिले साउदी ३ अंकका साथ दोस्रो स्थानमा छ।
मेक्सिकोको १ अंक छ भने अर्जेन्टिना अंकविहीन रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।