काठमाडौं– अर्जेन्टिनालाई पहिलो खेलमा २–१ गोलले पराजित गर्दै सनसनी मच्चाएको साउदी अरेबिया नकआउट प्रवेशका लागि आज पोल्याण्डविरूद्ध मैदानमा उत्रिँदै छ।
यी दुई देशबीचको खेल नेपाली समयअनुसार साँझ ६ बजेर ४५ मिनेटमा हुनेछ। पोल्याण्ड अघिल्लो खेलमा मेक्सिकोसँग गोलरहित बराबरीमा रोकिएको थियो। आजको खेलमा जित निकालेको खण्डमा साउदी अरेबिया विश्वकपमा प्रवेश गर्ने पहिलो टोली बन्न सक्छ। समूह ‘सी’ मा अर्जेन्टिनालाई पहिलो खेलमा पराजित गर्दै साउदीले ३ अंक बटुलिसकेको छ। पोल्याण्डको एक अंक मात्र छ।
कतारमा जारी विश्वकपअन्तर्गत आज चार वटा खेल हुँदैछन्, जसमा यही समूहमा अर्जेन्टिनाको भिड्न्त मेक्सिकोसँग राती पौने १ बजे हुँदैछ। अर्जेन्टिनालाई नकआउट चरणमा छनोट हुन मेक्सिकोलाई जित्नुपर्ने बाध्यता छ। बराबरी खेलले उसलाई थप समस्यामा पार्ने स्पष्ट छ।
आज समूह ‘डी’ मा पनि दुई खेल हुँदैछ। जसमा अष्ट्रेलियाले दिउँसो ३ बजेर ४५ मिनेटमा ट्युनेसियासँग प्रतिस्पर्धा गर्दैछ। यही समूहमा फ्रान्स र डेनमार्कले ९ बजेर ४५ मिनेटमा प्रतिस्पर्धा गर्ने छन्।
फ्रान्सको पनि आज खेल जितेर दोस्रो चरणमा प्रवेश गर्ने सम्भावना प्रबल छ। उसले पहिलो खेलमा अस्ट्रेलियालाई ४–१ गोलले पराजित गरेको थियो। यस्तै, ट्युनेसियाले डेनमार्कसँग गोलरहित बराबरी खेलेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।