काठमाडौं– दक्षिण अमेरिकी राष्ट्र इक्वेडरका कप्तान इनेर भेलेन्सिया कतारमा जारी विश्वकपमा खतरनाक बन्दै गइरहेका छन्। ८ वर्षपछि पुनः विश्वकप खेल्न उत्रिएका भेलेन्सियाले यसपालि विश्वकपको २ खेलमा ३ गोल गरिसकेका छन्।
सन् २०१४ को विश्वकपमा समूह ‘इ’ मा रहेको इक्वेडरका लागि भेलेन्सियाले ३ गोल नै गरेका थिए। त्यतिबेला उनको टोली समूह चरणबाट माथि उक्लिन सकेको थिएन। तर, यसपालि नकआउट चरणमा उक्लिने सम्भावना बलियो छ।
भेलेन्सियाले आयोजक कतारविरूद्ध पहिलो खेलमा २ गोल गरेका थिए। उनले नेदरल्याण्ड्सविरूद्ध पनि ४९ मिनेटमा गोल गरे। उनकै गोलको सहयोगले शुक्रबार भएको खेलमा इक्वेडरले युरोपको बलियो फुटबल राष्ट्र नेदरल्याण्ड्सलाई १–१ गोलको बराबरीमा रोकेको थियो।
भेलेन्सियाले विश्वकपमा अहिलेसम्म ६ गोल गरेका छन्। उनले शुक्रबार नेदरल्याण्ड्सविरूद्ध बराबरी गोल गर्ने क्रममा पोर्चुगलका महान फुटबलर युसोबियो, रुसका ओलेग सालेन्को र इटालीका पाबलो रोसीको विश्वकपमा ६ गोल गर्ने कीर्तिमानलाई बराबरी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।