नगरकोट- चाँगुनारायण नगरपालिकाले नगरकोट प्रवेश गर्ने पर्यटकसँग प्रवेश शुल्क उठाउन थालेपछि पर्यटन व्यवसायीले त्यसको विरोध गरेका छन्।
पर्यटन व्यवसायीहरुले भनेका छन्, 'नगरपालिकाले पर्यटन क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार तयार गरोस् र वार्षिक व्यवसायीसँग कति कर लिने हो त्यो निश्चित गरोस्। हामी तिर्न तयार छौँ, तर पर्यटकसँग कर उठाउनु हुँदैन।'
सरोकारवाला पक्षसँग छलफल नगरी तथा कुनै तयारीबिना असोज १ गतेबाट नगरकोट जाने पर्यटकसँग नगरपालिकाले ठेकेदारमार्फत प्रवेश शुल्क उठाउन थालेकामा व्यवसायीहरुले गुनासो गरेका छन्।
नगरकोट नाल्दुम पर्यटन विकास समिति सदस्य एवं होटल क्लब हिमालयनका प्रवन्धक अशोक थापालाई जननिर्वाचित प्रतिनिध भएपछि पर्यटन व्यवसायको अवस्थाबारे बुझ्छन् होला भन्ने लागेको थियो। तर असोज १ गते बुकिङ गरेका पर्यटकले फोनमार्फत प्रवेश शुल्कबारे सोधेपछि उनी छक्क परेको बताउँछन्। थापाले भने, 'पर्यटक शुल्क लिने निर्णय गरेको पर्यटन व्यवसायीलाई नै थाहा छैन।'
नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष इन्द्र लामा भन्छन्, 'भक्तपुरबाट नगरकोट पुग्ने दुई सडक मर्मत गरिएको छैन। जसले गर्दा पर्यटककको संख्या घटेको छ। यही अवस्थामा नगरपालिकाले गैरजिम्मेवारीपूर्ण तरिकाले पर्यटकसँग प्रवेश शुल्क उठाउन थाल्यो। यसले नगरकोटको पर्यटनमा ठूलो धक्का लागेको छ।'
सडक, पानी र फोहर व्यवस्थापनका पक्षमा कसरी अगाडि बढ्ने भन्ने सल्लाह नगरी पर्यटक प्रवेश शुल्क उठाउँदा पर्यटन व्यवसायी मारमा परेको समितिका उपाध्यक्ष नवीन गुरुङले बताए।
नगरकोटका पर्यटन व्यवसायीको एउटै आवाज छ, 'तत्काल प्रवेश शुल्क उठाउन रोकियोस्। बरु पर्यटन क्षेत्रको विकासका लागि व्यवसायीसँग नगरपालिकाले समन्वय गरेमा सक्दो सहयोग गर्नेछौँ।'
चाँगुनारायण नगरपालिकाको गत असारमा सम्पन्न नगरसभाले नगरकोट पुग्ने पर्यटकसँग प्रवेश शुल्क लिने निर्णय गरेको थियो। सोही निर्णयानुसार नगरपालिकाले नगरकोट पुग्ने पर्यटकसँग प्रवेश शुल्क लिनेगरी ५१ लाख रुपैयाँमा टेन्डर स्वीकृत गरेको थियो।
ठेकेदारले दक्षिण एसियाली मुलुकका नागरिकसँग प्रतिव्यक्ति भ्याटबाहेक २ सय र तेस्रो मुलुकका पर्यटकसँग भ्याट बाहेक ३ सय रुपैयाँ प्रवेश शुल्क लिन थालेको छ। ठेकेदारले नगरकोटको मुख्य नाका भक्तपुर-नगरकोट सडकको तेलकोट, भत्क्यापाटी, थाकलमठ र कलमसीमा पोस्ट खडा गरी पर्यटकसँग प्रवेश शुल्क उठाउन थालेको हो।
समितिका पूर्वअध्यक्ष रामशंकर ध्वोजुले भने, 'नगरकोटमा आएर सूर्योदय, सूर्यास्त र हिमाल हेर्नेबाहेक पर्यटकका लागि अरु केही सुविधा छैन। एउटा बसपार्क छैन। होटल बाहिर आउँदा पर्यटकलाई शौचालयको समस्या छ। पूर्वाधारको विकासबिना नगरपालिकाले पर्यटकसँग शुल्क उठाउँदा नगरकोटकै बदनामी भएको छ।'
'नगर परिसदबाटै पर्यटक प्रवेश शुल्क लिने निर्णय भएको हो, चाँगुनारायण नगरपालिका प्रमुख सोमप्रसाद मिश्र भन्छन्, 'त्यसैले तत्काल म एक्लैले केही गर्नसक्ने अवस्था छैन।' नगर प्रमुख मिश्रले नगरकोटमा पर्यटन विकासकै लागि शुल्क लिइएको दाबी गरे।
नगरकोटमा हाल करिब ६० वटा ठूला-साना होटल सञ्चालनमा छन्। त्यस्तै १ सयको हाराहारीमा रेस्टुरेन्ट छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।