काठमाडौं– पोर्चुगलका दुई युवा खेलाडीले आफ्नो डेब्यू खेलमै गोल गरेपछि विश्वकपअन्तर्गत पहिलो खेलमा घानालाई ३–२ गोलले पराजित गरेको छ। जाओ फेलिक्स र राफायल लेआउले २ मिनेटभित्र दुई गोल गरेपछि पोर्चुगल पहिलो खेलमा विजयी भएको हो।
पहिलो हाफको खेल गोलरहित बराबरीमा टुंगिएको अवस्थामा ६५ मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत पोर्चुगललाई अग्रता दिलाएका थिए। उनी पाँचवटा विश्वकपमा गोल गर्ने खेलाडी बन्न पुगेका छन्। उनले २००६ को आफ्नो पहिलो विश्वकपदेखि अनवरत गोल गर्दै आइरहेका छन्।
उनको ठूलो प्रतियोगिताको १४ खेलमा यो १३ औं गोल थियो। उनले युरोकप र विश्वकपमा गरी यो उपलब्धि चुमेका हुन्।
घानाले ८ मिनेटमै पोर्चुगलको गोल फर्काएको थियो। डिबक्सभित्र पोर्चुगिज डिफेन्डरले क्लियर गर्न नसकेको मौकाको फाइदा उठाउँदै कप्तान आन्द्रे आयूले बराबरी गोल गरेका थिए।
तर घानालाई त्यतिबेला सबैभन्दा ठूलो धक्का लाग्यो, कप्तान आयूलाई मैदानबाट निकालेको एक मिनेटभित्रै जाओ फेलिक्सले पोर्चुगलका लागि दोस्रो गोल गरे। ७८ मिनेटमा फेलिक्सले गोल गर्दा आयूले मैदानबाट बाहिरिएर पानी पनि पिउन पाएका थिएनन्।
त्यसको दुई मिनेटपछि नै ८० मिनेटमा लेआउले अर्को गोल थपे। यी दुवै गोलका लागि ब्रुनो फर्नान्डेसले मौका मिलाएका थिए। गोल गर्नुअघि उनी ३ मिनेटअघि रुबेन नेभेसलाई पदस्थापन गर्दै ७७ मिनेटमा मैदान प्रवेश गरेका थिए।
घानाका लागि ओसमान बुकारीले ८९ मिनेटमा गोल फर्काउँदै गोलको फरकलाई साघुरो पारेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।