दोहा– जापानले कतारमा जारी विश्वकप फुटबलमा ४ पल्टको विश्व च्याम्पियन जर्मनीलाई पराजित गर्दै विश्वभरी छरिएर रहेका फुटबल समर्थकको मन जित्यो। अहिले दोहामा जापानीहरू त्यो जितको कारणले मात्र होइन, सफाईको नयाँ पाठ सिकाउँदै सबैको मन जित्न सफल भएका छन्।
जर्मनीलाई २–१ गोलले पराजित गरेपछि जापानी खेलाडीले जहाँ आफ्नो ‘लकर रूम’ आफैले सफा गरे, बाहिर जापानी समर्थक रंगशाला सफाई गर्दै गरेको भेटिए। फिफाले जापानी खेलाडी र समर्थकको यो कार्यको मुक्तकण्ठले प्रसंसा गरेको छ। उसले बुधबार राती एउटा फोटो र भिडियो पनि सेयर गरेको छ। फोटोमा जापानी टिमको ‘लकर रूम’ निकै सफा देखिन्छ। यस्तै, भिडियोमा जापानी समर्थक रंगशालामा फ्याँकिएको फोहोर सफा गरिरहेको देखिन्छन्।

यो पोस्ट सार्वजनिक भएपछि सोसल मिडियामा जापानको खुलेर प्रसंसा भइरहेको छ। जर्मनीविरूद्ध ऐतिहासिक जितपछि खेलाडीले ‘लकर रूम’ मा अरबी भाषामा लेखेका छन्, धन्यबाद। फिफाले फोटो पोस्ट गर्ने क्रममा लेखेको छ– ‘जर्मनीसँग ऐतिहासिक जितपछि जापानी समर्थकले रंगशाला सफा गरे। यस्तै, जापानी टिमले खलिफा अन्तर्राष्ट्रिय रंगशालाको ‘टिम रूम’ यसरी सफा गरेका छन्।’
जापानी समर्थकले रंगशाला सफा गरेको घटना नयाँ होइन। ४ वर्षअघि रुसमा पनि उनीहरू फोहोर सफा गर्दै गरेको भेटिएका थिए। त्यतिबेला जापान ३–२ गोलले पराजित भए पनि समर्थकले फोहोर सफा गर्न छोडेका थिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।