दोहा– महान फुटबल खेलाडी ब्राजिलका पेलेले वेल्सविरूद्ध गोलका लागि अमेरिकी किशोर स्ट्राइकर टिमोथी वेहालाई बधाई दिएका छन्।
विश्वकपअन्तर्गत सोमबार राति भएको खेलमा अमेरिका र वेल्स १–१ गोलको बराबरीमा रोकिएको थियो। वेहाले ३६ मिनेटमा गोल गरेका थिए।
उनी पेलेपछि वेल्सविरूद्ध गोल गर्ने दोस्रो खेलाडी बनेका छन्। पेलेले सन् १९५८ मा १७ वर्ष हुँदा वेल्सविरूद्ध गोल गरेका थिए। वेहाले आफ्नो इन्स्टामा गोलको खुसी मनाइरहेको फोटो पोस्ट गरेका थिए। जसमा पेलेले बधाई दिएका छन्।
‘बधाई। यो आकर्षक गोल थियो। सपना हेरिराख, सपना पूरा हुनेछ,’ पेलेले लेखेका छन्। वेहाले यसको उत्तरमा पेलेलाई ‘पापा पेले’ भनेर धन्यवाद दिएका छन्। उनले यसलाई प्रेरित गर्ने सन्देश भनेका छन्। ‘(फुटबलका) राजाबाट यस्तो प्रेरणादायी सन्देश प्राप्त गर्नु आफैंमा सम्मानको कुरा हो,’ उनले भनेका छन्।
२२ वर्षीय वेहा लिबियाका पूर्वस्टार खेलाडी जर्ज वेहाका छोरा हुन्। जर्ज अहिले लिबियाली फुटबल संघका अध्यक्ष छन्। उनी १९९५ मा विश्वको उत्कृष्ट खेलाडी घोषित भएका थिए। टिमोथी वेहाले २६ खेलमा ४ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।