काठमाडौं- मंसिर ४ गते भएको निर्वाचनको परिणम धमाधम सार्वजनिक भइरहेको छ। हालसम्म २० स्थानमा जित हार भएको छ। जसमा नेपाली काग्रेसले ९, राष्ट्रिय स्वतन्त्र पार्टी ३, नेकपा एमालेले २,राप्रपा १,एकीकृत समाजवादी १, अन्य ४ स्थानमा विजयी भएका छन्।
काठमाडौंका १० क्षेत्रमध्ये ७ स्थानका नतिजा सार्वजनिक भइसकेको छ। जसमा नेपाली कांग्रेसले क्षेत्र नम्बर १,३,४,५, १० र राष्ट्रिय स्वतन्त्र पार्टीले २,७ र ८मा जित हात पारेका छन्।
क्षेत्र नम्बर १ मा कांग्रेसका प्रकाशमान सिंहले राप्रपाका रविन्द्र मिश्रलाई पराजित गरे। ३ मा सन्तोष चालिसेले एमालेका कृष्ण राईलाई पराजित गर्दै जित हात पारे। ४ मा गगनकुमार थापाले एमालेका राजन भट्टराईलाई पराजित गरे भने क्षेत्र नम्बर ५ मा प्रदीप पौडेलले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै जित हात पारे।
क्षेत्र नम्बर २ मा स्वतन्त्र पार्टीकी सोविता गौतमले एमालेका मणिराम फुयाँललाई पराजित गरिन्। त्यस्तै ७ मा स्वतन्त्र पार्टीका गणेश पराजुलीले एमाले श्यामकुमार घिमिरेलाई पराजित गरे। काठमाडौं ८ मा स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले हाम्रो नेपाल पार्टीका सुमन सायमीलाई पराजित गर्दै जित हात पारे।
काठमाडौंमा निकटतम प्रतिस्पर्धीको रुपमा रहँदै एमालेले धेरै स्थान गुमाएको छ। एमालेले काठमाडौं- ९ मा जित हात पारेको छ। एमालेका कृष्ण गोपाल श्रेष्ठले स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेललाई पराजित गरे।
काठमाडौं ६ र १० मा मत गणना चलिरहेको छ। ६ मा स्वतन्त्र पार्टीका शिशिर खनालले अग्रता लिएका छन्। उनलाई एमालेका सर्वेन्द्र खनालले पछ्याइरहेका छन्।
त्यस्तै क्षेत्र नम्बर १० नेपाली कांग्रेसका राजेन्द्रकुमार केसीले जितेका छन्। उनले एमालेका हिमेश केसीलाई पराजित गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।