काठमाडौं– कैलाली–३ मा प्रतिनिधि सभामा नागरिक उन्मुक्ति पार्टीबाट गंगाराम चौधरी निर्वाचित भएका छन्।
सत्ता गठबन्धन दलका उम्मेदवारलाई पराजित गर्दै भारी मत प्राप्त गर्दै गंगा निर्वाचित भएका हुन्।
चौधरी पहिलोपटक चुनावी मैदानमा उत्रिएका होइनन्।२०७४ सालको स्थानीय तह निर्वाचनमा उनी भजनी नगरपालिकामा मेयर उठेका थिए। स्वतन्त्रबाट मेयर उठेका उनले जम्मा ८ सय ९० मत प्राप्त गरेका थिए।
सुरुमा नेपाली कांग्रेसमा थिए उनी। उनका बुवा फूलराम नेपाली कांग्रेसका स्थानीय नेता थिए। बुवासँगै कांग्रेसका केही समितिमा बसेर काम गरे। नेपाली काँग्रेसको १३औं महाधिवेशनमा गाउँ सभापति बनेका थिए उनी तर टीकापुर घटनापछि उनले पार्टी त्यागे। रेशम चौधरीसँग निकट भएका हुन्।
०७४ सालको स्थानीय तह निर्वाचनमा हार बेहोरेपछि उनले त्यही वर्ष भएको प्रतिनिधि सभाका लागि कैलाली- १ मा रेशम चौधरीलाई जिताउन लागे। तत्कालीन राष्ट्रिय जनता पार्टीका उनी कैलाली संगठन प्रमुखसम्म भए।
केही समयअघि चौधरीले आफैं पार्टी खोल्ने निर्णय गरे। त्यसमा उनले साथ दिँदै केन्द्रीय सदस्य भए। यसपल्ट पार्टीले उनलाई कैलाली- ३ का लागि प्रतिनिधि सभामा उठायो।
टीकापुर घटना सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र रेशमलाई न्याय दिनुपर्ने मुद्दा लिएर उनले स्थानीयको घरदैलोमा पुगे।
स्थानीयका लागि उनी नयाँ अनुहार नै भने थिएनन। २२ वर्ष गैरसरकारी संस्थामा सहजकर्ताका रुपमा काम गर्दा गाउँटोल पुगेका थिए।
स्नातकोत्तरसम्म अध्ययन गरेका उनी कैलालीको भजनी नगरपालिका वडा नम्बर २ मोहनपुरका बासिन्दा हुन्।
प्रतिनिधि सभामा निर्वाचित गराएकोमा उनले मतदातालाई धन्यवाद दिएका छन्। उनले आफूले सदनमा पनि टीकापुर घटना सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न माग गर्ने बताए।
त्यसका साथै आफ्नो निर्वाचन क्षेत्रका समस्या समाधान गर्नतर्फ केन्द्रित हुने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।