काठमाडौं– आइतबार सम्पन्न भएको मतदानको अहिले १३८ क्षेत्रमा मतगणना भइरहेको छ। निर्वाचन आयोगको विवरण अनुसार प्रतिनिधि सभामा देशभरका १६५ क्षेत्रमध्ये सात ठाउँमा महिला उम्मेदवारले अग्रता लिइरहेका छन्।
अग्रता लिनेमध्ये दुई जना नेपाली कांग्रेस, दुई जना राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एमाले–माओवादी र नागरिक उन्मुक्ति पार्टीका एक/एक जना महिला उम्मेदवारले लिड गरेका छन्।
कांग्रेसबाट चित्रलेखा यादव र महालक्ष्मी उपाध्याय (डिना)ले अग्रता लिएका छन्। स्वतन्त्र पार्टीबाट सोविता गौतम र तोसिमा कार्की, माओवादी केन्द्रबाट रेखा शर्मा, एमालेबाट जुली महतो र नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठले अग्रता लिएका हुन्।
कुन क्षेत्रबाट कसले अग्रता लिँदै?
२०७९ सालको निर्वाचनका लागि एमालेबाट प्रतिनिधि सभातर्फ ११ जना महिला उम्मेदवार छन्। जसमा एक जनाले अग्रता लिएकी छन्। धनषा ३ मा एमालेबाट उम्मेदवार बनेकी जुलीकुमारी महतोले सुरुवातदेखि नै अग्रता लिइराखेकी छन्। उनलाई लोसपाका अनिलकुमार झाले पछ्याइरहेका छन्। महतो यसअघि प्रतिनिधि सभामा समानुपातिक सांसदसमेत भइसकेकी हुन्।
यस्तै नेपाली कांग्रेसबाट पाँच जना महिला प्रतिनिधि सभाका लागि उम्मेदवार रहेकोमा अहिलेसम्म दुई जनाले अग्रता लिएका छन्। सिरहा २ मा जारी मतगणनामा चित्रलेखा यादवले निरन्तर अग्रता लिइरहेकी छन्। उनलाई जनता समाजवादी पार्टीका राजकिशोर यादवले पछ्याइरहेका छन्। यादव सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बनेकी छिन्। यादव अघिल्लो पटक समानुपातिक सांसद थिइन्।
यस्तै कांग्रेसकी सहमहामन्त्रीसमेत रहेकी महालक्ष्मी उपाध्याय (डिना)ले पनि मकवानपुर १ मा अग्रता कायम राखेकी छन्। उनलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले पछ्याइरहेका छन्। कमल थापा एमालेको समर्थनमा सूर्य चिह्न लिएर चुनावमा उम्मेदवार बनेका छन्।
यस्तै नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले दाङ २ मा सुरुवातदेखि नै अग्रता कायम राखेकी छन्। उनलाई नेकपा एमालेका महासचिवसमेत रहेका पूर्वमुख्यमन्त्री शंकर पोखरेलले पछ्याइरहेका छन्। शर्मा पहिलोपटक प्रतिनिधि सभामा प्रत्यक्षतर्फ उम्मेदवार बनेकी हुन्।
यता राष्ट्रिय स्वतन्त्र पार्टिकी सोविता गौतमले काठमाडौं २ बाट निरन्तर अग्रता लिएकी छन्। उनलाई एमालेका मणिरमा फुयालले पछ्याइराखेकी छन्। यो क्षेत्रमा माओवादीकी नेता एवं पूर्वसभामुख ओनसरी घर्ती तेस्रो स्थानमा छिन्।
त्यस्तै सोही पार्टिकी डा तोसिमा कार्कीले ललितपुर ३ बाट अग्रता लिएकी छन्। उनलाई एमालेका अमृत खड्काले पछ्याइरहेका छन्। उर्जामन्त्रीसमेत रहेकी पम्फा भुसाल भने तेस्रो स्थानमा छिन्।
कैलाली १ मा नागरिक उन्मुक्ति पार्टिकी अध्यक्ष रन्जिता श्रेष्ठले निरन्तरता अग्रता लिएकी छन्। टिकापुर घटनामा रेशम चौधरीलाई काराबास भएसँगै श्रेष्ठले नयाँ पार्टी निर्माण गरेकी हुन्। उनलाई नेपाली कांग्रेसका रामजनम चौधरीले पछ्याइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।