काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं क्षेत्र नम्बर ४ का नवनिर्वाचित सांसद गगनकुमार थापाले यसपटकको निर्वाचनमा मतदाताले मत मात्र नखसालेको बताएका छन्।
उनले मतदाताले आक्रोश पनि व्यक्त गरेको टिप्पणी गरेका हुन्। निर्वाचनपछिको मतगणनामा भर्खरै बनेको स्वतन्त्र पार्टीप्रति बढेको रुझानप्रति इंगित गर्दै थापाले उक्त टिप्पणी गरेका हुन्।
विजय सभामा सम्बोधन गर्ने क्रममा थापाले नेताहरुले गरेका वाचा पूरा नभएका कारण मतदाता निराश र आक्रोशित रहेको बताए।
उनले भने, ‘मतदाताले मत पनि व्यक्त गरिरहेका छन् साथै आक्रोश पनि। निर्वाचन भयो, संवैधानिक प्रक्रिया अवरुद्ध हुने कुरा रोकियो। जनता खुसी छन्। तर हामीले गरेका वाचा पूरा हुन सकेका छैनन्। त्यसमा निराश छन्, आक्रोशित छन्’, उनले भने।
यस्तै सत्तारुढ गठबन्धनको बहुमत आउने उनले दाबी गरेका छन्। नयाँ सरकार गठबन्धनकै नेतृत्वमा हुनेमा आफू विश्वस्त रहेको थापाले उल्लेख गरे।
काठमाडौं ४ मा थापाले एमाले उम्मेदवार राजन भट्टराईलाई फराकिलो मतान्तरले पराजित गर्दै थापा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।