काठमाडौं– नेदरल्यान्ड्सविरुद्ध ऐतिहासिक एकदिवसीय क्रिकेट सिरिज खेलेको नेपाली राष्ट्रिय क्रिकेट टिम सोमबार स्वदेश आइपुग्ने भएको छ। नेपाली टिम जेट एयरवेजबाट आइतबार नेदरल्यान्ड्सबाट हिड्ने छ भने सोमबार विहान ८:५० नेपाल आइपुग्ने नेपाल टिमका म्यानेजर रमन शिवाकोटीले जनाएका छन्।
नेपाली टिम इंग्ल्यान्डको लर्ड्समा त्रिकोणात्मक टी–२० सिरिज र नेदरल्यान्ड्समा २ खेलको एकदिवसीय सिरिज खेलेर स्वदेश फर्कन लागेको हो। टी–२० सिरिजमा नेपालले एमसिसीलाई हराएको थियो भने नेदरल्यान्ड्स विरुद्धको दोस्रो खेल वर्षाले अबरुद्ध बनेको थियो। एकदिवसीय सिरिजमा पहिलो खेल गुमाएको नेपालले दोस्रो खेलमा १ रनको रोमाञ्चक जित हात पारेको थियो।
यता नेपाली टिमका युवा स्पिनर सन्दीप लामिछाने भने क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्ट इन्डिज लागेका छन्। सन्दीप सिपिएल टिम सेन्ट किट्स एन्ड नभिस पाट्रिओट्ससँग आवद्ध भएका थिए।
सन्दीप ५ हजार डलरमा आवद्ध भएका थिए। सन्दीपको टिममा क्रिस गेलसँगै जिम्बावेका कप्तान ग्रिम केमर छन्। यस्तै वेस्ट इन्डिजका कार्लोस वाथवेट, बंगलादेशका मोहमोदुल्ला सन्दीपका टिम मेट हुन्।

सिपिएल आगामी ८ अगस्टदेखि १६ सेप्टेम्बरसम्म हुनेछ। सिपिएलमा ६ टिम सहभागी हुनेछन्। जसमा बार्बाडोस ट्रिडेन्ट्स, गुयना अमाजोन वारियर्स, जमैका तालावाहस, सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्स, सेन्ट लुसिया र ट्रिन्बागो नाइटराइडर्सले प्रतिस्पर्धा गर्नेछन्।
सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्स टिम : क्रिस गेल, इभिन लेविस, कार्लोस वार्थवेट, मोहमदुल्लाह रियाद, तावरेज साम्सी , टम कुपर, सेल्डोन कोटरेल, ब्रान्डन किङ, डेभोन थोमस, ग्रिम क्रेमर, फाबियन एलेन, सन्दीप लामिछाने, सारमह ब्रुक, जेरेमी लुइस, अल्जारी जोसेफ, इब्राहिम खालिल, ग्लेन जाब्ली
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।