काठमाडौं- लिलाप्रसाद लोहनी नेपालका अति कम मतदातामध्येका एक हुन्, जसले राणाकालीन चुनाव मात्र होइन, अहिलेको गणतान्त्रिक नेपालको चुनावलाई पनि प्रत्यक्ष रूपमा अनुभव गरेका छन्। अझ, ब्रिटिश-भारतकालमा नेपालमा भन्दा पहिले भारतमा चुनावी प्रक्रियालाई नजिकबाट हेरेका थिए उनले।
सन् १९४३ मा लिलाप्रसाद लखनउ विश्वविद्यालयमा अध्ययनरत रहँदा उत्तर प्रदेशको हाथरतमा स्थानीय निर्वाचन भएको थियो। त्यतिबेला भारत बेलायतको अधिनमा थियो। उनी चुनावको पर्यवेक्षणका लागि विश्वविद्यालयबाटै हाथरत पुगेका थिए। टाइसुटमा ठाँटिएर मतदानस्थल पुग्दा उनलाई हेर्नेको भीड लागेको थियो।
२००७ सालको प्रजातन्त्रपछि नेपालमा भएको नगरपालिका चुनावमा उनले विराटनगरबाट मतदान गरेका थिए। २०१५ सालमा नेपालमा भएको पहिलो निर्वाचनमा लिलाप्रसाद प्रजातान्त्रिक महासभा पार्टीबाट उम्मेदवारी दिने तरखरमा थिए। तर उनको उम्मेदवारी तत्कालीन निर्वाचन आयोगले समय बितेको भन्दै स्वीकार गर्न मानेन। पार्टी अध्यक्ष रंगनाथ शर्मा थिए।
पहिलो निर्वाचनमा हात चुनाव चिह्न प्राप्त गरेको प्रजातान्त्रिक महासभाले काठमाडौं क्षेत्रमा धुमधाम प्रचार गरेको थियो। तर उसको पत्ता साफ भयो। पार्टी अध्यक्ष रंगनाथले नै चुनाव हारे। सुरुमा पार्टीले धाँधली भएको निष्कर्ष निकालेको थियो। तर पूर्वप्रधानमन्त्री तथा त्यतिबेलाका जल्दोबल्दो टंकप्रसाद आचार्यले नै चुनाव हारेपछि पार्टीका कार्यकर्ताले पनि हार स्वीकार गरेका थिए।
‘२००७ सालको क्रान्तिभन्दा अगाडि जेल परेका टंकप्रसाद आचार्य जस्तो व्यक्तिले त चुनाव हार्नुभयो भने हाम्रो के हालत होला? हामीले हार स्वीकार गर्यौं,’ गत जेठ १५ गते १०० वर्ष प्रवेश गरेका लिलाप्रसादले भने।
२०१७ सालपछि उनको प्रशासनिक जीवन सुरु भएको थियो। तत्कालीन राजा महेन्द्रले नेपाल राष्ट्र बैंकको निर्देशक पदमा नियुक्त गरेपछि उनी नेपालमा उद्योग कारोबारलाई प्रोत्साहित गर्ने अभियानमा जुटे। यही अभियान अन्तर्गत उनले विराटनगर जुट मिलको निर्देशक, एनआइडीसीको संस्थापक भएर पनि काम गरे।
पञ्चायतकालको चुनाव पञ्चेहरूको सशक्तीकरणको लागि भएको लिलाप्रसादको उनको भनाइ छ। बहुदलकालमा प्रजातान्त्रिक पार्टीहरूले जनतालाई राहत दिन नसकेको उनले आरोप लगाए। झन् अहिले त वातावरण बिग्रिँदै गएको गुनासो छ।
ब्रिटिश-भारतको चुनावदेखि गणतान्त्रिक नेपालको चुनावलाई नजिकबाट नियालेका लिलाप्रसाद के उद्देश्यका लागि चुनाव भएको, त्यो आफूले छुट्याउन नसकेको बताउँछन्।
‘विचारको लागि चुनाव भएको हो भने त्यो पनि देखिँदैन। देश विकासको लागि भएको भन्ने हो भने विकासको मापदण्ड पनि कुरुप देखिन्छ। जनताको लागि हो भने जनता निराश देखिन्छन्,’ उनको दुःखेसो छ।
लिलाप्रसाद राणाकालको चुनाव शान्त र अनुशासित भएको बताउँछन्। तर पछिल्लो समय नेपालमा तडकभडक र बुथ लुट्ने जस्ता अराजक प्रवृत्तिले चुनावको विश्वसनीयतामा प्रश्न उठ्न थालेको र जनता निरास बन्दै गएको उनी बताउँछन्। यी सबै कुरा आयातित भएको उनको गुनासो छ।
‘२०१५ सालपछि यसको सुरुवात भएको हो। अहिले उचाईमा पुगेको छ,’ लिलाप्रसाद भन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।