काठमाडौँ- दाङको तुलसीपुर उपमहानगरपालिका-१० को पातु वनगाउँ माविमा बिहान ७ बजेदेखि नै मतदाता लाइनमा थिए। उनीहरूले मतदान पनि गरे। ९१ मत खसेपछि एउटा रहस्य खुल्यो, प्रतिनिधि सभामा पनि प्रदेश सभाको मतपत्रले मतदान भएको रहेछ।
कर्मचारीले प्रतिनिधि सभाको मतपत्र ल्याउनुपर्नेमा सबै प्रदेश सभाको ल्याएपछि यस्तो भएको थियो।
एउटामा अर्को मतपत्र परेपछि तत्कालै सर्वदलीय बैठक बोलाएर उक्त मत बदर गरियो। सर्वदलीय बैठकले उक्त मतदान केन्द्रमा ७ बजेसम्म मतदान गर्ने सहमती गरेको छ।
त्यस्तै मतदान गरेर घर पुगेका मतदातालाई पुन: मत हाल्न बोलाइएको छ।
कर्मचारीको गल्तीका कारण स्थगित मतदान फेरि दिउँसो १ बजेदेखि सुरु भयो। मतदान केन्द्रमा भोट हालेर गएका मतदातालाई फेरि बोलाएर मतदान सुरू गरिएको हुँदा मतदाता नछुटुन् भनेर बेलुका ७ बजेसम्म समय थपिएको निर्वाचन क्षेत्र नं. ३ का निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले जानकारी दिए।
मतदान केन्द्रकी मतदान अधिकृत पुष्पलता घर्तीले भुलबस गल्ती भएको स्वीकार गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।