काठमाडौं- प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन देशैभर उत्साहपूर्ण तरिकाले भइरहेको छ।
दलका शीर्ष नेता,उम्मेदवार र मन्त्रीहरू आफ्नो निर्वाचन क्षेत्रमा पुगेर मतदान गरिरहेका छन्। आइतबार बिहानदेखि मन्त्रीहरू पनि आफ्नो निर्वाचन क्षेत्रमा पुगेर मतदान गरेका छन्।
प्रधानमन्त्री बाहेक अधिकांश मन्त्रीहरूले मतदान गरिसकेका छन्। सहरी विकासमन्त्री मेटमणी चौधरीले दाङबाट मतदान गरेका छन्। उनले गढवा गाउँपालिका-६ स्थित मावि गढवा मतदानकेन्द्रबाट मतदान गरेका छन्। दाङ-१ मा सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार छन्।
त्यसैगरी अर्थमन्त्री जनार्दन शर्माले रुकुम पश्चिमबाट मतदान गरेका छन्। शर्माले मुसिकोट नगरपालिका-५ सेरिगाउँस्थित श्री यमुनानन्द नमुना माविमा पुगेर मतदान केन्द्रबाट मतदान गरेका हुन्।
उनी रुकुम पश्चिमबाट साझा गठबन्धनको माओवादी केन्द्रको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्। उर्जा,जलस्रोत र सिंचाईमन्त्री पम्फा भुसालले ललितपुर महानगर २ को राजतीर्थ मतदान केन्द्रमा पुगेर मतदान गरेकी छन्।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री तथा काठमाडौं-८ का प्रतिनिधिसभा सदस्य उम्मेदवार जीवनराम श्रेष्ठले स्वयम्भूस्थित भुइँँखेल मतदान केन्द्र 'क' बाट मतदान गरेका छन्। श्रेष्ठले बिहान ८ बजेतिर मतदान गरेका हुन्।
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज बाँके-१ (२) अन्तर्गत कोहलपुरको पिपिरीस्थित मतदानस्थलबाट मतदान गरेका छन्।
त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले मतदान गरेका छन्। उनले दार्चुलाको महाकाली नगरपालिका-५ अपिनाम्पा (क) केन्द्रमा मतदान गरेका हुन्।
उनी प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनको कांग्रेसका तर्फबाट उम्मेदवार बनेका छन्।
उनको प्रतिस्पर्धा भने एमालेका गणेशसिंह ठगुन्नासँग हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।