काठमाडौं– सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिक खेलकुदअन्तर्गत महिला फुटबलको छनोट तालिका सार्वजनिक गरिएको छ। सुरुमा एसियाको छनोट तालिका सार्वजनिक भएको छ।
पहिलो चरणको छनोटमा नेपाल समूह 'सी' मा परेको छ। नेपाल रहेको समूहमा भारत, बंगलादेश र म्यानमार रहेका छन्। नेपालले पहिलो खेल भारतसँग ८ नोभेम्बरमा खेल्नेछ। यस्तै नेपालले ११ नोभेम्बरमा म्यानमार र १३ नोभेम्बरमा बंगलादेशसँग खेल्नेछ। खेल स्थान भने टुंगो लागेको छैन।

एसियाको पहिलो चरणको छनोटमा नेपालसहित १८ देशले भाग लिएका छन्। १८ देशलाई चार समूहमा विभाजन गरिएको छ। जहाँबाट समूह र उपविजेता गरी ८ र उत्कृष्ट हुने २ तेस्रो टिम गरी १० टिम दोस्रो चरणमा पुग्नेछन्।
दोस्रो चरणमा १२ टिमबीच प्रतिस्पर्धा हुनेछ। भियतनाम र उज्वेकिस्तान सिधै दोस्रो चरणमा पुगेका छन्। १२ टिमलाई ३ समूहमा विभाजन गरिनेछ। समूह विजेता ३ टिम तेस्रो चरणमा पुग्नेछन्।
तेस्रो चरणमा दोस्रो चरणमा पार गरेका ३ टिम र सिधै पुगेका ५ टिम गरी ८ टिमबीच प्रतिस्पर्धा हुनेछ। अस्ट्रेलिया, चीन, उत्तर कोरिया, दक्षिण कोरिया र थाइल्यान्ड सिधै तेस्रो चरणमा प्रवेश गरेका छन्। २ समूहबीच प्रतिस्पर्धा हुने विजेता र उपविजेता गरी ४ टिम अन्तिम चरणमा पुग्नेछन्।
अन्तिम चरणमा ४ टिमबीच होम एन्ड अवेमा प्रतिस्पर्धा हुनेछ। उत्कृष्ट २ टिम टोकियो ओलम्पिकमा छनोट हुनेछन्।
ओलम्पिकको महिला फुटबलमा एसियाबाट ३ वटा कोटा छ। जापान आयोजकको हैसियतमा छनोट भइसकेकाले बाँकी २ स्थान छनोट प्रतियोगिताबाट हुने लागेको हो। ओलम्पिकको महिला फुटबलमा विश्वभरबाट छनोट भएका १२ टिमबीच प्रतिस्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।