काठमाडौं– निर्वाचन आयोगले कसैको डर, त्रास, धाक, धम्की वा कुनै पनि किसिमको प्रलोभनमा नपरी मतदान गर्न सबै मतदाताहरुलाई आह्वान गरेको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्धक्क भएर आफ्नो मत आफूले चाहेको उम्मेदवारलाई दिन आग्रह गरेका छन्। उनले सबै मतदाताको आफ्नो प्रतिनिधि गोप्य रुपमा छान्ने अधिकार रहेको स्पष्ट पार्दै त्यस विपरीत मतदान कार्यमा सहभागी हुने मतदातामाथि निर्वाचन कानुन अनुसार कारबाही हुने चेतावनी दिए।
प्रमुख निर्वाचन आयुक्त थपलियाले मत संकेत गरिसकेको मतपत्रको गोपनियता भंग गरिए सो मतपत्र नै गणना नहुनेतर्फ पनि सचेत गराए। ‘म आदरणीय मतदाताहरुमा विशेष अनुरोध गर्न चाहन्छु, निर्वाचन आयोगद्वारा प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका सम्पूर्ण बालिग मतदाताहरुले कसैको डर, त्रास, धाक, धम्की, अवरोध अथवा कुनै पनि किसिमको प्रलोभनमा नपरी गोप्य रुपले आफ्नो मताधिकार प्रयोग गर्न पाउनु उनीहरुको अधिकार हो’, उनले भने, ‘मतदान गर्न पाउनु अधिकार मात्रै होइन, आफ्नो प्रतिनिधि छान्ने यो अवसर प्रयोग गर्नु हरेक मतदाताको कर्तव्य पनि हो।’
यस्तै मतदानका क्रममा मतदातालाई कसैले तपाईं कसलाई मतदान गर्नुहुन्छ? तपाईं कुन चिह्नमा मतदान गर्नुहुन्छ? भन्ने जस्तो प्रश्न सोध्ने कार्य गरेको पाइएमा कारबाही गर्ने बताए।
‘व्यक्तिको गोपनियताको हकलाई जबरजस्ती बञ्चित गर्नेगरी कुनै पनि गतिविधि गर्नु हुँदैन। मतदान प्रक्रियाको गोप्यता भंग भयो भने त्यो मतपत्र मतमेटिकामा नखसाली अथवा कैले मत संकेत गरेको मत फलानो चिह्नमा संकेत गरिएको थाहा भयो भने त्यो मत्र पत्रलाई मतपेटिकामा खसालीसकेको भए त्यसो गर्ने व्यक्तिलाई कारबाही हुने छ,’ उनले भने, ‘खसाली नसकेको भए मतदान अधिकृतले त्यस्तो मत पत्रलाई छुट्टै खाममा राखेर त्यो खाममा भएको व्यहोरा उल्लेख गरी सिलबन्दी गरी मुचुल्का खडा गरी राख्नुपर्छ।’
त्यस्तो मतपत्र गणना गर्नसमेत नपाउने व्यवस्था गरिएको उनले बताए। यसका अतिरिक्त आफ्नो नाममाबाहेक अरुको नाममा मत हाल्न, पटक–पटक मतदान गर्न जान र मतपत्र बिगार्न अथवा मतपत्र नष्ट गर्न जाली मतपत्रहरु ल्याएर मतपेटिकामा हाल्न र कुनै पनि मतपत्रलाई बिगार्ने किसिमको कुनै पनि वस्तु वा पदार्थ मतपेटिकामा हाल्न नपाउने उनले बताए।
यस्तै अन्तिम मतदाता नामावलीमा रहेका बालिग मतदाताहरुले पनि कसैको डर, त्रास, धाक, धम्की, अवरोध अथवा कुनै पनि किसिमको प्रलोभनमा नपरी गोप्य रुपले आफ्नो मताधिकारको प्रयोग गर्न पाउनु उनीहरुको नैसर्गिक अधिकार भन्दै आएको र सोही अनुसार व्यवस्था मिलाइएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।