सोमबार बिहान।
थापाथलीस्थित सुकुम्बासी बस्तीमा घामको किरण ओर्लिएको मात्र थियो। बस्तीमा कोही सिकुवामा बसेर खाना खाँदै थिए। कोही आँगनमा बसेर पारिलो घाम ताप्दै।
टहराका भित्ताहरूमा विभिन्न पार्टीका झन्डा फर्फराइरहेका थिए। जसले नजिकिँदै गरेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको रापिँदो माहोल संकेत गर्थे।
उम्मेदवारहरू आउँथे, विभिन्न आश्वासन बाँडेर फर्कन्थे।
त्यसरी फर्कने मध्येमा थिए नेपाली काङ्ग्रेसका काडमाडौँ-१ का प्रतिनिधि सभा उम्मेदवार प्रकाशमान सिँह। अघिल्लो दिनमात्रै उनी यो बस्तीमा झुल्किएका थिए। बस्तीबाटै उठिबास लाग्ने त्रास व्यहोरिरहेका उनीहरूसँग सिँहले समस्या समाधानको आशा देखाएका थिए।
‘भूमि आयोगले काम सुरु गरिसकेको छ। निर्वाचन आयोगले निर्वाचनको समयमा काम रोक्नु भनेकाले अहिले रोकिएको छ, त्यसको प्रतिवेदन आइसकेपछि अध्ययन गरेर स्थायी समाधान निकाल्छौं,’ सिँहले अघिल्लो दिन गरेका प्रतिवद्धता उनीहरूले सम्झिरहेछन्।
तर बागमती सभ्यताको चेतावनीले झस्काउन छाडेको छैन। बागमती सभ्यताले ४ मंसिरसम्म सुकुम्बासीलाई बस्तीबाट हट्न निर्देशन दिएको छ। नहटे डोजर लगाएर हटाउने सूचना जारी गरेको छ।
आफूहरूले व्यहोरिरहेको समस्यामाथि टहरमा एक समूह छलफल गर्दै थियो। छेउमा शिशुलाई तेल लगाउँदै गफ सुनिरहेकी थिइन् आयुसा तामाङ। आयुसा १५ वर्षदेखि यो बस्तीमा छिन्। २ वर्षअघिमात्र उनले यही बस्तीका युवकसँग विवाह गरिन्। १ महिनाअघि मात्र उनले छोरी जन्माइन्। तर छोरीको स्याहार गर्न त्रिपालको छानो भएको घरमा सजिलो छैन।
यो बस्तीमा कहिले हिउँमा कठ्यांग्रिने चिसो पस्छ, बर्खामा बाढी। र कहिले हुरी। ती सबै सहेरै बसेका थिए आयुसाहरू।
‘तर राज्य नै लाग्यो भनेचाहिँ हाम्रो उठिबास लाग्ने रहेछ,’ उनले अनुहार खुम्चाउँदै भनिन्। बागमती सभ्यता’ले बस्ती खाली गर्न गरेको माइकिङ आयुसाले सुनेकी रहिछन्। ‘अब ४ गतेपछि हटाउने भनेको छ। यस्तो सानो बच्चा लिएर हामी कहाँ जाऊँ?,’ आयुसाका ससुरा चन्द्रबहादुर तामाङ थप्दै दिए, ‘हामी आन्दोलनको तयारीमा छौँ। ठाउँ ठाउँमा फोन गरेर रोक्ने प्रयास गर्दैछौँ।’
चन्द्रबहादुर १७ वर्षदेखि बस्तीमा बस्दै आएका रहेछन्। बस्ती छाड्नुपरे जाने ठाउँ कतै नरहेको उनले सुनाए।
चन्द्रबहादुरको १३ जनाको परिवार छ। धादिङमा जन्मिएका उनीसँग उतिबेला ५ रोपनी जमिन रहेछ। ०४५ सालमा २३ सय ऋण तिर्न नसकेर जग्गा साहुले कब्जा गरेका रहेछन्। त्यसपछि चन्द्रबहादुर काठमाडौँ उक्लिएका रहेछन्।
बास खोज्ने क्रममा जबदेखि सुकुम्बासी बस्तीमा बस्न थाले, यहाँ पनि उनले कहिल्यै मीठो निद्रा निदाउन पाएनन्। ‘पहिला पनि चार पटक आगो लगाए। पाँच पटक भत्काए। उनीहरू भत्काएर जान्थे। हामी फेरि बनाएर बस्ने गर्थ्यौँ,’ चन्द्रबहादुर सुनाउँछन्, ‘बाबुराम प्रधानमन्त्री हुँदाको पालादेखि चलिरह्यो।’
उनले हरेक चुनावमा यहीँबाट भोट हाल्ने गर्छन्। यो चुनावमा भने उनी दोधारमा छन्। ‘पहिला हामीले भोट हालेर जसलाई जितायौँ उही हाम्रो घर भत्काउन आउँछ,’ उनी चिन्तित भावमा सुनाउँछन्, ‘हाम्रो टहराले फोहोर देखियो रे। हुकुम्बासीले फोहोर गरेको नदेख्ने हामीले बनाएको घरले फोहोर देखिने ? हामी त व्यवस्थित शौचालय बनाएर बसेका छौँ।’
अर्को टहराका झवर लाल उरावँ (सुमन)सँग पनि उस्तै दुखेको छ, ‘हामीलाई सरकारले हेप्यो।’
झवरलाल सुकुम्बासी समितिको सचिव समेत हुन्। यो बस्तीमा उनले पटक पटक बासका लागि संघर्ष गर्नुपरेको छ। ‘मेरो यहीँको मतदाता सूचीमा नाम छ। धरैपटक यहाँबाट मतदान गरेको छु। हाम्रा पनि त अधिकार छन्। हामी पनि त नागरिक हौँ,’ उनी आक्रोसित सुनिन्छन्।
झवरलालको प्रश्न छ- ओत लाग्ने छाप्रो हालेर बस्दा हामीलाई सरकारले किन आतङ्ककारी जस्तो व्यवहार गर्छ?
घरीघरी माइकिङ गरेर डर देखाउने, डोजर लगाएर आतंक मच्चाउने जस्ता घटनाले साना बालबालिकामा मानसिक असर देखिएको झवरलाल बताउँछन्। बस्तीका शिव दर्लामी चाहनाले खोला किनारमा आफूहरू नबसेको बताउँछन्। ‘दुर्गन्धित नदीको किनारमा बस्न कसलाई रहर होला र? हामीलाई व्यवस्थित ठाउँ दिए त किन बस्थ्यौँ र,’ उनी सुनाउँछन्।
राज्यको दमनविरुद्ध बस्तीले संघर्ष नगरेको त हैन। शक्तिको अगाडि के पो लाग्छ र! ‘यहाँ रोगी अपाङ्ग, वृद्धवृद्धा, बालबालिका सबै छन्। उनीहरूको सुरक्षाका लागि पनि हामी लडिरहेका छौँ। हामी अझै पनि राज्यविरुद्ध लडिरहेका छौँ,’ मिनकुमार रानामगर भन्छन्।
राना मगर बस्तीका अगुवा युवा हुन्। उनी सुकुम्बासी समितिका अध्यक्ष पनि हुन्। उनी बस्तीमा बसेको १७ वर्ष भयो। यहीँ मतदाता नामावलीमा नाम दर्ता भएदेखि उनले बस्तीबाटै भोट हाल्छन्। यसपालि उनी सचेत छन्- कतै जितेर जानेले नै डोजर ल्याउने त हैन।
अहिले त चुनावका कारण बस्तीमा उम्मेदवार आएका छन्। नयाँ नयाँ आश्वासन आएका छन्। चुनावपछि न नेता आउँछन्, न आश्वासन। केबल टहरा ढलाउने डोजर आउँछन्।
मिलनकुमारको एउटै प्रार्थना छ- सदाका लागि बस्तीभित्र राज्यको आतङ्क बन्द होस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।