काठमाडौं– सशस्त्र प्रहरी बलका सहायक निरीक्षक (असई) सत्यनारायण यादव हत्या आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीकै जवान होमबहादुर खत्री जेल चलान भएका छन्।
सप्तरी जिल्ला अदालतले खत्रीलाई मुद्दाको पुर्पक्षका लागि जेल चलान गरेको हो। असई यादवको हत्यामा जवान खत्रीको संलग्नता देखिएको भन्दै जिल्ला प्रहरी कार्यालय सप्तरीले खत्रीलाई पक्राउ गरी २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गरेको थियो।
कर्तव्य ज्यानको अभियोग लगाएर मुद्दा दायर गरिएका खत्रीलाई अदालतको आदेशपछि जेल चलान गरिएको सप्तरीका एसपी अभिनारायण काफ्लेले जानकारी दिए।
खत्रीले व्यक्तिगत रिसिइबीका कारण असईको हत्या गरेको अनुसन्धानबाट खुलेको छ। सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वार्टर राजविराजमा दरबन्दी भइ बोर्डर आउटपोस्ट (बीओपी) छिन्नमस्तामा कार्यरत असई यादव असोज २० गते मृत भेटिएका थिए।
असई यादवको शव नेपाल–भारत सीमाभन्दा ३ किलोमिटर भारततर्फ बिहार राज्यको मधुवनी जिल्लाअन्तर्गत जिरोगा पुनर्वासस्थित घोडदह खोलामा नाङ्गो अवस्थामा भेटिएको थियो।
अनुसन्धनका क्रममा सशस्त्रकै जवान खत्री समेतको संलग्नता देखिएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो।
उनै खत्रीले व्यक्तिगत रिसिइबीका कारण असई यादवको हत्या गरेको अनुसन्धान खुलेको थियो। मारिएका असई यादव र जवान खत्री दुवैजना मदिरा पिइरहने र सो क्रममा विवाद हुने गरेको अनुसन्धानबाट खुलेको छ।
मदिरा खाएर झगडा गर्ने, ड्युटी नै छाडेर १५/२० दिनसम्म वेपत्ता भएपछि खत्रीलाई सहायक हवल्दारबाट एक तह घटुवा गरेर जवानमा झारिएको थियो। आफ्नो गाउँ सिरहामा समेत मदिरा खाएर झगडा गरेपछि गाउँलेले खत्रीलाई पक्राउ गरेर प्रहरीलाई बुझाउन लाग्दा माफी मागेपछि छाडिएको पाइएको काफ्लेको भनाइ छ।
असोज १९ मा असई यादव ड्युटीका लागि भन्दै मोहनपुरतर्फ गएका थिए। सीमा नजिकै रहेको बीओपीबाट केही पर पुगेपछि जवान खत्रीले असईको हत्या गरेको र कपडा खोलेर शव खोलामा बगाएको विषय अनुसन्धानबाट खुलेको एसपी काफ्लेले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।