काठमाडौं– सशस्त्र प्रहरी बलका असई सत्यनारायण यादव हत्याको अनुसन्धानमा नयाँ–नयाँ विषय खुल्दै गएका छन्। हत्याको अनुसन्धानमा खटिएको प्रहरी टोलीले असई यादवको हत्यामा उनकै सहकर्मी समेतको संलग्नता रहेको भन्दै पक्राउ गरेपछि यो विषय झनै पेचिलो बन्दै गएको छ।
सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वार्टर राजविराजमा दरबन्दी भई बोर्डर आउट पोस्ट (बीओपी) छिन्नमस्तामा कार्यरत असई यादव असोज २० गते मृत भेटिएका थिए।
नेपाल–भारत सीमाभन्दा ३ किलोमिटर भारततर्फ बिहार राज्यको मधुवनी जिल्ला अन्तर्गत जिरोगा पुनर्वासस्थित घोडदह खोलामा असई यादवको शव भेटिएको थियो। नांगो अवस्थामा शव भेटिएपछि अनुसन्धान सुरु गरिएको थियो। सो क्रममा सशस्त्रकै जवान होमबहादुर खत्री समेतको संलग्ना देखिएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ।
यता, सशस्त्र प्रहरी हेडक्वार्टरले मंगलबार राजविराजस्थित सशस्त्र प्रहरी गण नम्बर ६ का गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) प्रदीप खड्कालाई हेडक्वार्टर हल्चोक तानेको छ। सशस्त्रका प्रवक्ता तथा एसएसपी पुरुषोतम थापाले एसपी खड्कालाई हेडक्वार्टर तानिएको पुष्टि गरे।
हत्या आरोपमा पक्राउ परेका जवान खत्री पनि असई यादवसँगै सोही बीओपीमा कार्यरत रहेको पाइएको छ। उनलाई नियन्त्रण लिएर अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले नेपाल लाइभलाई जानकारी दियो।
असोज १९ गते असई यादव ड्युटीका लागि भन्दै मोहनपुरतर्फ गएका थिए। सोही दिन सशस्त्र जवान खत्रीले एक युवतीलाई बोलाएको पाइएको छ। अर्का एक जना युवाले ती युवतीलाई मोटरसाइकलमा राखेर मोहनपुरतर्फ लगेको प्रहरी अनुसन्धानबाट खुलेको छ। युवतीलाई प्रयोग गरेर असई यादवलाई बोलाएर त्यसपछि हत्या गरेर शव फालिएको हुनसक्ने आशंका प्रहरीले गरेको छ।
मोहनपुर नाकाबाट तस्करी हुने र असई यादव भने तस्करी नियन्त्रणका लागि खटिने गरेकाले तस्करहरुसँग दुश्मिनी भएपछि उनकै सहकर्मीको समेतको प्रयोग गरेर हत्या गरिएको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ। यद्यपि, अहिले अनुसन्धानकै क्रममा रहेकाले सबै कुरा पुष्टि भइनसकेको प्रहरी स्रोतले जनाएको छ।
बीओपी प्रमुखमा इन्सपेक्टर रहँदै आएपनि उक्त बीओपीमा भने केही समयदेखि सई नै प्रमुखको रुपमा कार्यरत थिए। बीओपी प्रमुख सई कृष्णबहादुर मगर पनि उक्त घटनापछि बिरामी भन्दै सशस्त्र प्रहरी अस्पताल काठमाडौंमा भर्ना भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।