काठमाडौं– पूर्वसभामुखसमेत रहेकी माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्तीले ४ मंसिरको निर्वाचनमा माओवादी केन्द्र, कांग्रेस र एकीकृत समाजवादी एक–अर्काप्रति इमान्दाररुपमा प्रस्तुत हुने बताएकी छिन्।
काठमाडौं–२ बाट सत्ता गठबन्धनको उम्मेदवार रहेकी उनले सोमबार साँखुमा भएको चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धनमा आबद्ध कांग्रेस, माओवादी र एकीकृत समाजवादीको मत एक–अर्को दलका उम्मेदवारलाई सहजै ‘ट्रान्सफर’ हुने वातावरण बनेको बताइन्।
मंसिर ४ को निर्वाचनलाई सामान्य आवधिक चुनावका रुपमा मात्र लिन नहुने चर्चा गर्दै उनले लोकतन्त्र, व्यवस्था, संविधान र जनताको जित या हारका रुपमा लिनुपर्ने बताइन्।
घर्तीले आफूलाई माओवादीको मात्र नभई गठबन्धनको उम्मेदवारका रुपमा हेर्न भन्दै माओवादी मतदाता र जनताले अन्यत्र कांग्रेस र एकीकृत समाजवादीका उम्मेदवारलाई पनि आफ्नै ठानेर मत दिने उल्लेख गरिन्।
कांग्रेस, माओवादी र एकीकृत समाजवादी मिलेर काठमाडौं–२ बाट संघमा आफू विजयी हुँदै गरेको दाबी गर्दै उनले रोल्पाको प्रदेश (ख) मा माओवादी मतले कांग्रेस उम्मेदवार विजयी हुँदै गरेको बताइन्। घर्तीको गृहिजल्ला रोल्पाको प्रदेश (ख) मा कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन गठबन्धनका साझा उम्मेदवार छन्।
‘कांग्रेस, माओवादी र एकीकृत समाजवादी मिलेर यहाँबाट संघमा म विजयी हुँदै गर्दा रोल्पाको प्रदेश (ख) मा कांग्रेसका उम्मेदवार विजयी हुँदैछन्’, ‘कांग्रेसका मतदातालाई लक्षित गर्दै उनले भनिन्, ‘तपाईंहरू हँसिया हथौडामा भोट दिएर मलाई यहाँ जिताउँदै हुनुहुन्छ, रोल्पामा हामी रुखमा भोट दिएर कांग्रेसका उम्मेदवार जिताउँदैछौं। कतै कलम र कतै ग्लासको जित गराउँदैछौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।