काठमाडौ– नेपाल युएईसँगको पहिलो एकदिवसीय खेलमा ८४ रनले पराजित भएको छ। रोहितकुमार पौडेलको कप्तानीमा घरेलु मैदानमा नेपाल ठूलो अन्तरले पराजित भएको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार नेपालले खराब ब्याटिङ र बलिङ प्रर्दशन गरेको छ।
पहिले ब्याटिङ गरेको युएईले २६४ रनको लक्ष्य दिएको थियो। २६४ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै १७९ रनमात्र बनाउन सक्यो। नेपालका लागि अर्जुन साउद र दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेले। ठूलो लक्ष्य पछ्याएको नेपालले राम्रो शुरुवात गर्न सकेन्।
नेपालका ओपनर आशिफ शेख १२ रनमै आउट भए। उनीपछि आएका ज्ञानेन्द्र मल्ल, कप्तान रोहित पौडेल र हरिशकरण साहले ओपनर अर्जुनलाई राम्रो साथ दिन सकेनन्। पूर्व कप्तान ज्ञानेन्द्र शून्य रनमा आउट भए भने कप्तान रोहित १ रनमा पबेलियन फर्किए। उनीपछि आएका दीपेन्द्रले भने साथ दिए।
ब्याटिङमा निकै कमजोर सुरुवात गरेको नेपालबाट अर्जुनले ५१ र दीपेन्द्रले ५४ रन बनाए भने अन्य ब्याट्सम्यानले उल्लेख्य प्रर्दशन गर्न सकेनन्। एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गरिरहेका अर्जुनले ७९ बल खेल्दै ५ चौका प्रहार गरेका थिए।
कुशल भुर्तेल ६ र सोमपाल कामी ३ रनमा आउट भए। कुशललाई आउट गरेका आयनले १० ओभरमा ४ मेडन राख्दै १४ रन खर्चे। करण केसी ३ रनमा आउट भए। गुलशन झा १९ र ललित राजवंशी ६ रनमा अविजित रहे । ९ जना बलर प्रयोग गरेको युएईबाट बसिल अहमदले २ तथा रोहन मुस्ताफा र जाहुर खानले १–१ विकेट लिए।
युएईका ओपनर हम्मद वासिम र वृत्य अर्विन्दले १५ ओभरभित्र ७५ रन जोडेर राम्रो सुरुवात गरेका थिए। गुलशनले वासिमलाई बोल्ड गरेर साझेदारी तोड्दै नेपालको पक्षमा खेल फर्काउने प्रयास गरेका थिए।
सोही ओभरमा उनले कप्तान सीपी रिजवानलाई एलबीडब्लू आउट गरेका थिए।
वासिमले ४१ बल खेलेर ६ चौका र १ छक्का प्रहार गरी ४४ रन बनाए। अर्विन्दले ८२ बल खेलेर ६ चौका प्रहार गर्दै ४० रन बनाए। नेपालका बलरहरूले कसिलो बलिङ गर्न नसक्दा युएईलले लाभ उठाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।