बार्सिलोना– चिलीका मिडफिल्डर अर्टुरो भिदाल स्पेनिस क्लब बार्सिलोनामा आबद्ध भएका छन्।
चिलीका स्टार खेलाडी भिदाल र बार्सिलोनाबीच ३ वर्षको सम्झौता भएको छ। जर्मन च्याम्पियन वायर्न म्युनिखबाट बार्सिलोनामा आबद्ध हुन उनीसँग २७ मिलियन पाउन्डमा सम्झौता गरिएको छ।
३१ वर्षीय भिदाल केहि दिनमा मेडिकल गर्न बार्सिलोना पुग्नेछन्। सन् २०१५ मा इटालीयन क्लब युभेन्ट्सबाट उनी वायर्नमा आवद्ध भएका थिए। उनी आवद्ध भएपछिका तीन सिजनै वायर्नले उपाधि जितेको थियो।
बार्सिलोनाले केहि दिनमा पत्रकार सम्मेलन गरेर भिदालसँगको सम्झौता बारे जानकारी दिने बताएको छ।
वायर्नले पनि भिदालले क्लब छाडेको पुष्टि गरेको छ। भिदलाले नयाँ चुनौती आएको भन्दै सम्झौता गरेकोमा बार्सिलोनालाई धन्यवाद दिएका छन्।

सन् २०११ मा युभेन्ट्समा आबद्ध हुनुअघि उनले सन् २००७ देखि २०११ सम्म जर्मन क्लब वायर लिभरकुजेनबाट खेलेका थिए। वायर्नमा ३ सिजनमा ७९ खेल खेलेका उनले १४ गोल गरेका थिए।
चिलीको राष्ट्रिय टिममा २००७ मा डेब्यू गरेका उनले सय अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्। त्यसक्रममा उनले २४ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन्। चिलीबाट उनले सन् २०१५ मा कोपा अमेरिका फुटबलको उपाधि उचालेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।