नोमपेन– दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान)को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा जापानमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेनले जापानका प्रधानमन्त्री फुमियो किशिदा र दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलसँग भेटवार्ता गरेका छन्।
हालैका हप्तामा उत्तर कोरियाले एउटा अन्तरमहादेशीय क्षेप्यास्त्रसहित शृङ्खलाबद्धरूपमा लामो तथा छोटो दूरीमा प्रहार गर्ने क्षमतायुक्त क्षेप्यास्त्र परीक्षण गरेर कोरियाली प्रायद्वीपमा त्रासको वातावरण सृजना गरेपछि प्योङयाङलाई कसरी आणविक हतियार विकासमा रोक्ने भन्नेबारेमा छलफल भएको छ। एशिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभाव तथा जापान र गणतन्त्र कोरियासँगको अमेरिकाको सहयोगात्मक सम्बन्धबारे पनि नेतात्रयबीच विचारविमर्श भएको छ।
आर्थिक एवम् सामरिक सामथ्र्ययुक्त शक्तिशाली प्रतिद्वन्द्वी चीनका राष्ट्रपति सी चिनफिङसँगको भेटवार्ताअघि उनीहरूबीच भएको भेटवार्तालाई आसियान मुलुकका नेताले चासोका साथ हेरिरहेका छन्।
कोरियाली प्रायद्वीपमा उत्तर कोरियाले निम्त्याएको जोखिम घटाउन अमेरिका, जापान र कोरियाको संयुक्त रणनीति एवम् साझेदारीलाई सुदृढ बनाउन राष्ट्रपति वाइडेनले उनीहरूसँग छलफल गर्ने शनिबार अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले बताएका थिए। उत्तर कोरियाका पछिल्ला गतिविधिलाई लिएर उनले त्रिपक्षीय सुरक्षा सहयोग अभिवृद्धिमा जोड दिँदै यो क्षेत्रको समग्र शान्ति र स्थायित्वका निम्ति सहकार्य र साझेदारी अपरिहार्य भएको बताए।
उत्तर कोरियाका कारण कोरियाली प्रायद्वीपमा तनाब बढिरहेको छ। उसले निरन्तर हतियार परीक्षण एवम् प्रदर्शन गर्दै आएको छ। अमेरिका र दक्षिणकोरियाले संयुक्त सैन्य अभ्यास गरेपछि क्रुद्ध बनेको प्योङयाङले परीक्षणको निन्दा गरेको थियो। संयुक्त अभ्यासका क्रममा दुवै देशले बमवर्षक एवम् लडाकू विमान उडाएका थिए।
यसैबीच, कम्बोडियाका नेता हुन सेनले विश्वव्यापीरूपमा तनाव बढेकामा चिन्ता व्यक्त गर्दै पारस्परिक एकताका निम्ति आह्वान गर्नुभएको छ। आसियान शिखर सम्मेलन उद्घाटन गर्दै उनले सबै मतभेदको समाधान शान्तिपूर्ण ढङ्गले गर्नुपर्नेमा जोड दिए। विवाद सुल्झाउन सहकार्य आवश्यक भएको र त्यो विश्वको साझा हितमा भएको उनले दोहो¥याए। रुस, चीन र संयुक्त राज्य अमेरिकाका उच्चअधिकारी सम्मिलित शिखर सम्मेलनमा उनले अहिलेको विश्वव्यापी तनाबले सबैलाई असर गरिरहेको वास्तविकतातर्फ ध्यानाकर्षित गराए।
ताइवान र बेइजिङको बढ्दो क्षेत्रीय आकांक्षालाई लिएर संयुक्त राज्य अमेरिका र चीन बीचको तनाव, युक्रेनमाथि रुसले गरेको आक्रमणले विश्वव्यापी आपूर्ति शृङ्लामा पुगेको अवरोध, बढ्दो ऊर्जा र खाद्यान्न मूल्यले निम्त्याएका विषम परिस्थितिबारेमा पनि कम्बोडियाली नेताले विश्वनेताहरूको ध्यानाकर्षण गराए। शिखर सम्मेलनमा अष्ट्रेलिया, न्यूजिल्याण्ड, दक्षिण कोरिया, जापानलगायत राष्ट्रका नेता पनि सहभागी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।