काठमाडौँ: नेपाली कांग्रेसकी नेतृ जानुका पन्तले ‘जहाँ कांग्रेस, त्यहाँ सुशासन र विकास’ भन्ने अवधारणासहित पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्।
कांग्रेसको १५औँ महाधिवेशनमा खस आर्य महिला समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्दै नेतृ पन्तले पार्टी संगठनलाई तल्लो तहसम्म सुदृढ बनाउँदै अधिकार र नेतृत्वको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिएकी छिन्। उनले महिलाको उचित नेतृत्व र क्षमता विकासलाई आफ्नो प्रमुख एजेन्डाका रूपमा अघि सारेकी छिन्।
पन्तले कांग्रेसभित्र तल्लो तहका कार्यकर्ताको भूमिका र अधिकारलाई थप प्रभावकारी बनाउँदै प्रत्यक्ष संवादमार्फत जनताका समस्या र मुद्दालाई पार्टीको प्राथमिकतामा राख्न आफू उम्मेदवार बन्न लागेको बताइन्। साथै, संगठन सुदृढीकरण, युवा सहभागिता र जनतासँगको प्रत्यक्ष सम्बन्धलाई उनले आफ्नो राजनीतिक अभियानको मुख्य आधार बनाएकी छिन्।
आफ्नो उम्मेदवारी अभियानमा राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई कांग्रेसको मूल आधारका रूपमा प्रस्तुत गर्दै पन्तले ‘गौरव, गति र गन्तव्य’लाई मूल नाराका रूपमा अघि सारेकी छिन्। उनले कांग्रेसलाई जनतासँग जोडिएको, जवाफदेही र प्रभावकारी संगठनका रूपमा अघि बढाउन आफूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।