काठमाडौं– सडक सुरक्षाका लागि काठमाडौंको सार्वजनिक यातायात प्रणालीलाई भरपर्दो बनाउनुपर्ने र यसका लागि बहुपक्षीय जिम्मेवारी पूरा हुनुपर्ने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले बताएका छन्।
महानगरसँगको सहकार्यमा सडक सुरक्षा परिषद्, सडक सुरक्षा समाज र रोटरी क्लब अफ दरबारमार्गले आयोजना गरेको कार्यशालाको शुभारम्भ गर्दै प्रमुख शाहले भने, ‘ठूला २ सय सार्वजनिक सवारीले पुग्ने काठमाडौंको चक्रपथमा २ हजार सवारी गुड्छन्। जति धेरै यात्री राख्न सक्यो उत्ति नै आय आर्जन हुन्छ। यसकारण सार्वजनिक सवारी सञ्चालकहरुबीच अस्वस्थ्य प्रतिस्पर्धा भयो। सडक असुरक्षाका कारणमध्ये यो अवस्था पनि एउटा हो। यसलाई पिक एण्ड ड्रपको माध्यमबाट जसले जति यात्री बोके पनि आयमा असर नपर्ने वातावरण सिर्जना गर्नुपर्छ। त्यसो हुन सक्यो भने अनियन्त्रित गतिमा गुड्ने सवारीको गतिमा नियन्त्रण हुन्छ र दुर्घटनामा कमी आउँछ।’
कार्यशालामा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले, सडक दुर्घटना, त्यसबाट हुने चोटपटक र मृत्यु घटाउने दिशामा काम गर्नु अहिलेको जरुरी भएको बताए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. कृष्ण पौडेलले भने चोटपटक जनस्वास्थ्यका दृष्टिले गम्भीर विषय भएको भन्दै दुर्घटना घटना एकीकृत काम हुन नसकेको बताए।
उनले २०७७/०७८ को नेपाल प्रहरीको तथ्यांक उदृत गर्दै थपे, ‘यो वर्ष सडक दुर्घटनामा परेका २ हजार ८७२ जनाको ज्यान गयो। ७ हजार २८२ जना गम्भीर प्रकारको चोटपटकमा परे। २५ हजार व्यक्तिलाई चोटपटक लाग्यो। यो सामान्य खालको समस्या होइन।’
नेपालमा प्रति १ लाख व्यक्तिमध्ये ९ दशमलव ४ प्रतिशत व्यक्तिमा दुर्घटनाजन्य क्षति भएको तथ्यांक छ। यसबाट हरेक वर्ष करिब ३ हजार व्यक्तिले ज्यान गुमाउँछन् भने करिब ६ हजार व्यक्तिले गम्भीर प्रकृतिको चोटपटकको सामना गरिरहेका छन्। विश्वमा हरेक २४ सेकेन्डमा १ जना व्यक्तिले सडक दुर्घटनाका कारण ज्यान गुमाइरहेको तथ्यांक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।