काठमाडौं– निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचन प्रचार–प्रसारका क्रममा हुने फजुल खर्च गर्न नियन्त्रण हुनेगरी समाचार प्रकाशन गरिदिन सञ्चारकर्मीलाई अनुरोध गरेका छन्।
यस्तो खर्चले वित्तीय अनुशासन उल्लंघनका साथै अर्थतन्त्रलाईसमेत प्रभावित पार्ने भएको भन्दै उनले कम खर्चमा मतदाता समक्ष दल र उम्मेदवार जान प्रेरित हुनेगरी समाचार प्रकाशन गरिदिन अनुरोध गरेका हुन्।
नेपाल टेलिभिजनले आयोजना गरेको निर्वाचन अभिमुखीकरण तथा विषयवस्तु र प्राविधिक तयारीबारे कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिस्पर्धात्मक समयमा स्थलमा गएर सही समाचार ल्याउन टेलिभिजनकर्मीलाई प्रविधि, जनशक्ति वा अन्य कुनै पक्षको अभावका नाममा गर्न खोजेको काम गर्न नसकिएको भन्ने छुट नभएको बताए।
सूचना दिएर जितिन्छ, लुकाएर जितिदैन भन्ने मान्यताका साथ आयोगले सूचनामा सबैको समान पहुँच स्थापित गर्ने गरी संयन्त्र स्थापना र प्रवाह गरिरहेकाले तथ्य जाँच गरेर समयमा सही समाचार दिन आग्रह गरे।
उनले मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको अनुगमन भइरहेकाले गालीगलौज र लाञ्छनायुक्त भनाइलाई रोक्न पाइँदैन भन्ने हिसाबले प्रस्तुत हुनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे।
प्रमुख आयुक्त थपलियाले जनताको अभिमत प्रकट हुनुपूर्व फलानो उम्मेदवार बलियो वा फलानो उम्मेदवार कमजोर भन्ने ढंगले समाचार वा मत सर्वेक्षण गर्न आचारसंहिता विपरीत भएको बताए।
उनले मतदानको दिन र मतगणना कार्यको समाचार दिँदा अन्तर्राष्ट्रिय मान्यताअनुरुप तथ्यपरकता, सन्तुलित र विश्वसनीय समाचार प्रवाह गर्न आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।