काठमाडौं- नेदरल्यान्ड्स विरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपालका युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले डेब्यू गर्दै कीर्तिमान बनाएका थिए।
यसअघि पहिलो एकदिवसीय खेलमा पहिलो रोजाइमा पर्न नसकेका रोहित शुक्रबार भएको दोस्रो खेलमा भने टिममा परे। मध्यक्रमका अनुभवी ब्याट्सम्यान शरद भेषवाकर घाइते भएपछि रोहितले मौका पाएका हुन्।
दोस्रो खेलमा डेब्यू गरेसँगै रोहित एकदिवसीय खेल खेल्ने चौथो कान्छा खेलाडी बनेका छन्। शुक्रबार नेदरल्यान्ड्ससँग भिड्दा रोहितको उमेर १५ वर्ष ३३५ दिन छ।
डेब्यू खेलमा उनले ब्याटिङ भने राम्रो गर्न सकेनन्। छैटौं नम्बरमा ब्याटिङ गरेका उनी ६ रनमा आउट भए।
एकदिवसीय खेल खेल्ने कान्छा खेलाडी भने पाकिस्तानका हसन राजा हुन्। उनले सन् १९९६ मा जिम्बावेविरुद्ध १४ वर्ष २३३ दिनको उमेरमा डेब्यू गरेका थिए।
दोस्रो कान्छा खेलाडी केन्याका गुरदिप सिंह हुन्। उनले २०१३ मा अफगानिस्तानविरुद्ध १५ वर्ष २५८ दिन उमेरमा डेब्यू गरेका थिए। तेस्रो कान्छा खेलाडी क्यानडाका नितिश कुमार हुन्। उनले सन् २०१० मा अफगानिस्तानविरुद्ध १५ वर्ष २७३ दिनमा डेब्यू गरेका थिए।
नेपालका रोहितले पाकिस्तानका अक्युब जाभेदलाई पछि पारे। जाभेदले १९८८ मा वेस्ट इन्डिज विरुद्ध १६ वर्ष १ सय २७ दिनमा डेब्यू गरेका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।