काठमाडौं– शुक्रबार कञ्चनपुरमा आयोजित सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लिएर एमाले नेता भीम रावलले प्रतिवाद गरेका छन्। सभामा ओलीले डडेलधुरामा कांग्रेस बीपीबाट उम्मेदवार भएका कर्ण मल्ललाई मत दिन एमाले पंक्तिलाई निर्देशन दिइरहँदा दर्शकदिर्घाबाट भीम रावलको नाम उच्चारण भएपछि ओलीले केही आक्रोशित हुँदै रावल बुढो भएको बताएका थिए।
‘भीम रावलको तपाईंलाई किन चिन्ता पर्यो? ०४८ सालदेखि एकछिन् मुख खाली छैन। बुढो भइसक्नुभयो। बेकार किन भीम रावलको चिन्ता, अरुलाई पालो दिनुपर्दैन? एउटै भीम रावल, भीम रावल। केको खेती गरिराख्या? के भीम रावल? थुप्रो रावलहरू हुनुहुन्छ सुदूरपश्चिममा। थुप्रो रावलहरूलाई अगाडि बढाइन्छ’, ओलीको भनाइ थियो।
रावलले शुक्रबार राति सामाजिक सञ्जालबाट ओलीभित्र बलिरहेको क्रोध, बदला, निषेध र द्वेषपूर्ण दुर्भाव उदांग भएको बताएका छन्। उनले लेखेका छन्, ‘म ६७ वर्ष लागेकालाई ‘बुढो’ भन्ने हो भने ७० वर्ष काटिसकेका ओलीजी फेरि सांसद र प्रधानमन्त्रीका लागि कसरी तन्नेरी हुनुभयो? मभन्दा उमेर बढी भएका अरुलाई उम्मेदवारका लागि किन सहमति दिनुभयो?'
अरुलाई पालो दिनुपर्ने ओलीको भनाइप्रति पनि रावलले सहमतियुक्त खण्डन गरेका छन्। ‘हो, अरुलाई पनि पालो दिन पार्टीले मापदण्ड बनाएमा सबैले मान्नुपर्छ। तर अरुलाई पालो दिनुपर्ने भए ओलीजी र सचिवालय तथा स्थायी कमिटीमा अनेकौं पदमा रहेका र अनेकौं पटक सांसद र मन्त्री भएका व्यक्तिका हकमा अरुलाई पालो दिनुपर्ने भन्ने किन लागू नहुने त?’, उनको प्रश्न छ।
ओलीले यसअघि रावललाई केटो भन्दै उनलाई सुदूरपश्चिम प्रदेशको समस्याका रुपमा चित्रित गरेका थिए। २०७७ पुस २४ गते धनगढीमा आयोजित तत्कालीन नेकपाको ओली पक्षको सभामा उनले भनेका थिए- ‘अछामको एउटा केटो, म जेल बस्या बेला बाटामा हिँड्दाहिँड्दै पुलिसले समातेर ल्याएछ। भेटाएर मैले राजनीतिकरण गर्या थिएँ। अहिले त कुराकानी सानातिना छैनन्। मान्छेभन्दा कुरा ठूला छन्। नानीभन्दा नाना ठूलो, मान्छेभन्दा कुरा ठूलो। नाम भन्नुपर्दैन, तपाईंले चिन्नुहुन्छ। यस प्रदेशको विकासको समस्या हुन्, ती मान्छे। अब त्यो समस्याको समाधान भएको छ।’
खुलापत्र मार्फत् रावलले ओलीको प्रतिवाद गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।