काठमाडौं- ‘अछामको एउटा केटो, म जेल बस्या बेला बाटामा हिँड्दा हिँड्दै पुलिसले समातेर ल्याएछ। भेटाएर मैले राजनीतिकरण गर्याथिएँ। अहिले त कुराकानी सानातिना छैनन्। मान्छे भन्दा कुरा ठूला छन्। नानी भन्दा नाना ठूलो, मान्छे भन्दा कुरा ठूलो। नाम भन्नुपर्दैन, तपाईंले चिन्नुहुन्छ। यस प्रदेशको विकासको समस्या हुन्, ती मान्छे । अब त्यो समस्याको समाधान भएको छ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार धनगढीमा आयोजित सभामा गरेको भाषणको एक अंश हो, यो। उनले ‘एउटा केटो’ भन्दै महत्त्वहीन व्यक्तिका रुपमा प्रस्तुत गरेका नेता हुन्, नेकपाका स्थायी कमिटी सदस्य भीम रावल।
नेकपाको अनौपचारिक विभाजनपछि चलिरहेको वाकयुद्धमा ओलीले एक पक्षको नेतृत्व गरिरहेका छन्। दैनिकजसो चलिरहेको उनको भाषणमा केही नेताका विषयमा छुद्र टिप्पणी गर्ने गरेका छन्। मुख्यतः पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई नै उनले आफ्नो निशानामा पार्ने गरेका छन्। त्यसपछि भने रावलकै नाम आउँछ।
ओलीले रावललाई कुन स्तरमा प्रस्तुत गर्छन् भन्ने कुरा ‘एउटा केटो’ भन्ने शब्दावलीले नै प्रष्ट पार्छ। रावललाई गाली गर्नैका लागि ओलीले ‘तथ्यहीन समाचार’को समेत सहारा लिने गरेका छन्। गत पुस १९ गते काठमाडौंको कार्की ब्यांक्वेटमा आयोजित एउटा भेलामा उनले रावलबारे आएको गलत समाचारको आधारमा आलोचना गरेका थिए।
ओलीले बेलाबखत चर्चा गरिरहन्छन्- म एमालेको महाधिवेशनमा जितेर अध्यक्ष बनेको हुँ। ओली जुन महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका थिए, रावल पनि त्यही महाधिवेशनबाट उपाध्यक्ष निर्वाचित भएका थिए।
अर्कोतिर, ओली आफैंले ‘राजनीतिकरण’ गरेको दाबी गर्ने ती व्यक्तिका कारण सुदूरपश्चिममा कम्युनिस्ट राजनीति फैलिन सकेको हो। यसअघि नेकपा एमालेका लागि उनी त्यो क्षेत्र मात्रै होइन, राष्ट्रिय राजनीतिमा समेत अनिवार्य जस्तै बनेका थिए।
रावल निशानामा पर्नुका कारण
ओलीको निशानामा रावल पर्नुका केही कारणहरु छन्। तीमध्ये पहिलो कारण आफूलाई ‘राष्ट्रवादी नेता’का रुपमा प्रस्तुत गरिरहेका ओलीका लागि रावल चुनौती बनेका छन्। रावलले पनि ‘राष्ट्रवादी’ देखिनेगरी केही एजेन्डालाई यति जोडतोडका साथ उठाए कि त्यसले ‘ओलीको राष्ट्रवाद’मा सानोठूलो धक्का पुगेको छ।
ओलीले आफ्नो वक्तव्यमा रावललाई ‘नक्कली राष्ट्रवादी’ भन्नुको कारण आफू मात्रै सक्कली दर्शाउनु हो। राष्ट्रवादमाथि शुक्रवार यही विषयमा रावलमाथि धाराप्रवाह प्रहार गर्ने क्रममा भने, ‘५८ वर्षदेखि हडपिएको लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नक्सा सार्वजनिक गरियो। संविधान संशोधन गरेर त्यहाँ उल्लेख गरियो। केहीलाई छटपटी भयो। अहिलेको कोकोहोलो, अहिले राष्ट्रिय राजनीतिमा आएको यो उतारचढाव, असहज स्थिति सिर्जना हुनुमा नेपालको नक्सामा ती भूभाग राखेर छाप्नु हो। त्यसो गर्दा यही प्रदेशका मान्छे (भीम रावल)लाई टाउको दुख्यो। बाहिर–बाहिर राष्ट्रवादी देखिने, भित्रभित्र नक्सा छाप्यो भनेर उखरमाउलो भएर उठबस गर्दै पछारिँदै भुइँमा लडिबुडी गर्ने।’
उनले नक्कली राष्ट्रवादी भन्दै पदका लागि लड्ने व्यक्तिको संज्ञा दिए र थपे, ‘पद पायो भने खुसी हुनेहरु, मैले मन्त्री बनाएको बेला त केपी ओली ठीक थियो, अरु पनि छन् मान्छे। एउटा प्रदेशबाट सधैं एकजनालाई कति मन्त्री बनाउने? मैले एकजनालाई मात्रै मन्त्री बनाइरहन मानिनँ। उहाँलाई पीर पर्यो।’
रावलसँग ओली पार्टी विभाजित भएपछि उतातर्फ लागे भनेर मात्रै रिसाएका होइनन्। अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा रावलले चलाएको अभियान यसको मूल कारण हो। त्यही विरोधले रावलको ‘राष्ट्रवादी’ छवि फैलियो, उता नाकाबन्दीपछि चुलिएको ओलीको राष्ट्रवादमा धक्का पुग्यो। एमसीसी पास हुन नहुने विषयमा रावल लगायतले गरेको विरोधको स्वर जनजनमा पुग्यो। जसले आम जनमत समेत एमसीसी विरोधी बन्यो। पास हुने प्रक्रियामा रहेको एमसीसी स्थगित गर्नुपर्ने अवस्था बन्यो।
आफूमाथि प्रहार हुनुको चार कारणमध्ये एक एमसिसी नै रहेको रावलको बुझाइ छ। उनी भन्छन्, ‘उहाँ नवउदारवादी बाटोमा जाने हुनुभयो। घचेट्ने क्रममा अमेरिकासँग राष्ट्रको हित विपरित एमसीसी सम्झौता संसद्बाट पारित गर्न नहुने कुरालाई पार्टीभित्र र संसद्बाट सशक्त रुपमा उठाएँ। त्यो प्रधानमन्त्री ओलीलाई चित्त बुझेको थिएन।’
ओलीसँग रावलको सिधा ‘वार’ परेको अर्को घटना पनि छ। प्रधानमन्त्री ओली सरकारले नेपालमा गर्न लागेको भारतीय फिल्म अवार्ड ‘आइफा’को पनि रावलले जमेर विरोध गरे। तत्कालीन प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा उनीलगायतको चर्को विरोधले सरकारलाई उक्त अवार्ड नगर्न निर्देशन दियो। ओली सरकारका काममा तगारो भएका रावल त्यही समयदेखि आँखी बनेका थिए। रावल भन्छन्, ‘होली वाइनदेखि सामन्त गोयलसम्म आइपुग्दा मैले सरकारले गरेका गलत कामलाई सशक्त रुपमा उठाएँ। नक्सा प्रकाशित गर्नुपर्छ भनेर खुलस्त बोलें।’
आफूलाई ‘चौबीस क्यारेट’को राष्ट्रवादी नेताको रुपमा प्रस्तुत गर्ने ओलीका कार्यशैलीलाई आम मानिसमाझ बहस ल्याइदिने काम गरे रावलले। आफ्नै पार्टीको अध्यक्ष र प्रधानमन्त्री हुन् भन्दैमा रावलले ओलीको कुनै गतिविधिलाई बेवास्ता गरेनन्।
आफूले ओलीले चाल्न थालेको अन्य गलत कामलाई रोक्ने र पार्टीभित्र र बाहिर तथ्यसहित कुरा राख्दै आएकाले ओलीले धेरै विषयमा त्यसको जवाफ दिन नसकेको रावल सुनाउँछन्।
यतिबेला प्रधानमन्त्री ओलीले सुदूरपश्चिमलाई महत्त्व दिइरहे जस्तो देखिन्छ पनि। नेकपा एकीकृत नै रहेका बेला तत्कालीन एमाले कोटाबाट सुदूरपश्चिमलाई एउटा पनि मन्त्री नदिएका ओलीले फुटेपछि चारजना मन्त्री बनाएका छन्। काठमाडौंमा सुदूरपश्चिमको कार्यकर्ता भेला गरे। यसैगरी धनगढीबाट उपत्यका बाहिरका जनसभा सम्बोधन थालेका छन्। भनिरहेका छन्, ‘अब सुदूरपश्चिमलाई कसैले पछाडि पार्न सक्दैन।’
ओलीले यो समय सुदूरपश्चिमलाई महत्त्व दिनुको अर्को कारण यो समूहको प्रभाव कमजोर हुनु हो। राष्ट्रिय राजनीतिमा पनि छवि बनाएका रावलको पकड बलियो रहेको छ। त्यसलाई चिर्न यसअघि पनि प्रयास गरेका थिए। मदन भण्डारी फाउन्डेसनका नाममा देशभरि नै आफ्नो गुटको प्रभाव विस्तार गर्दा सुदूरपश्चिमा रावलले रोक्ने कोसिस गरेका थिए। उनले भने, ‘मदन भण्डारीको फाउन्डेसनका नाममा गुटबन्दी गर्दै हिँडेका थिए। ती कुरालाई छलफलका कुरामा उठाएँ। विशेष गरी सुदूरपश्चिममा कारबाही परेकाहरुलाई च्यापेर गुटबन्दी तीव्र पार्ने प्रयास गर्नुभयो। त्यसमा मैले निर्भिकता साथ उठाएँ। उहाँको निरंकुश प्रवृत्ति र अलोकतान्त्रिक चरित्र रोक्न लागें। त्यही कारणले त्योबेला देखि नै सबैभन्दा बढी प्रहार ममाथि गर्दै आउनुभएको हो।’
रावलमाथि प्रहार गर्नुको कारण ओली समूहमा लागेका पूर्व माओवादी नेता लेखराज भट्टलाई स्थापित गर्नका लागि पनि हो। यसैपनि माओवादीको कम प्रभाव रहेको सुदूरपश्चिममा त्यो पनि विभाजित छ। यसले गर्दा भट्ट कमजोर छन्। उनका निकटस्थ मानिने मुख्यमन्त्री त्रिलोचन भट्टले समेत प्रचण्ड–माधव समूहलाई साथ दिएका छन्। कुनै समय प्रचण्डका प्रिय मानिने लेखराजलाई प्रचण्ड विरुद्ध नै प्रयोग गरिरहेका छन्। रावल विरुद्ध ओली आफैं भिडिरहेका छन्। तेजोबध गर्ने योजनाबद्ध उपाय अपनाइएको देखिन्छ। रावल अर्को कित्तामा पुगेको यही समयमा भित्तामा पुर्याउन ओलीले जोड गरिरहेको देखिन्छ।
के ओलीले राजनीतिमा ल्याएका हुन् रावललाई?
प्रधानमन्त्री केपी शर्मा ओलीले बाटोमा हिँड्दा पक्राउ परेका रावललाई जेलमा भेटेर राजनीतिमा ल्याएको बताइरहेका छन्। प्रधानमन्त्री ओलीले ‘एउटा केटो’ भनेका रावलसँग उमेरकै कुरा गर्दा पनि पाँच वर्ष मात्रै अन्तर देखिन्छ। केपी ओलीले विद्यालय पढ्ने बेला आफू कलेजमा पढ्ने बेला विद्यार्थीको नेतृत्व गरिरहेको दाबी रावलको छ।
२०३२ सालमा आइए पढ्ने क्रममा रत्नराज्य लक्ष्मी क्याम्पसको नेतृत्व गरेर तत्कालीन व्यवस्था विरुद्ध प्रदर्शन गर्दा अरु विद्यार्थीसँगै आफू पक्राउ परेको रावल बताउँछन्। केन्द्रीय कारागारमा प्रधानमन्त्री ओलीसँग भेट भए पनि कुरा नभएको रावलको भनाइ छ। उनले भने, ‘ममाथि सार्वजनिक सुरक्षा अन्तरर्गतको कानुन लगाएर जेलमा पठाइयो। त्यहीँ ओलीलाई देखेको हुँ। उहाँले पार्टी चरित्रअनुसार काम नगरेको भनेर त्यो बेलाका राजबन्दीबाट उहाँलाई निष्कासन गरेको रहेछ। उहाँ भोला भन्ने ज्यानमुद्दा लागेको व्यक्तिसँग बस्नुहुन्थ्यो।’
जेलमा बस्दा उहाँलाई राधाकृष्ण मैनालीलगायतले मेसबाट निकालेका कारण आफूले नभेटेको रावलको तर्क छ। उनको दाबी छ, ‘राधाकृष्ण मैनालीले मेसबाट निकालिदिनु भएको थियो। अवसरवादी हो नभेट्नु भनियो। एकदिन पनि कुरा नगरेर निस्केको हुँ। केन्द्रीय कार्यालयमा बस्दा एकदिन पनि राजनीतिक गफ गरिनँ। भलिबल खेल्दा भेट हुन्थ्यो। राजनीतिक गफ राधाकृष्ण मैनाली, घनेन्द्र बस्नेत, मनकुमार गौतमसँग मात्रै हुन्थ्यो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।