काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबर्जस्ती करणी (बलात्कार)को मुद्दामा आज (मंगलबार)देखि थुनछेक बहस हुने भएको छ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। सोमबार अभियोगपत्र दायर गरिएकोमा मंगलबारदेखि थुनछेक बहस हुने भएको हो।
सन्दीपविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३)को देहाय (घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ।
दफा २१९ को उपदफा (३)को देहाय (घ) मा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।
सन्दीपविरुद्ध अधिकतम १२ वर्ष जेल सजायको मागदाबी गरिएको हो।
१७ वर्षकी एक किशोरीले आफूमाथि काठमाडौंको एक होटलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै गत भदौ २१ गते प्रहरी वृत्त गौशालमा जाहेरी दिएकी थिइन्।
पीडित किशोरीले प्रहरीसँगको बयानका क्रममा सन्दीपले आफूलाई काठमाडौं र भक्तपुरको नगरकोटसमेत पुर्याएको र फेरि फर्काएर काठमाडौं ल्याइ एक होटलमा राखेर बलात्कार गरेको भन्दै पीडित युवतीले बताएकी छन्।
सन्दीपले आफूमाथि दुईपटक जबरजस्ती करणी गरेको पीडित युवतीले बयानमा उल्लेख गरेकी छन्।
सन्दीपले भने बयानका क्रममा बलात्कारको आरोप अस्वीकार गरेका छन्। पीडित युवतीसँग होटलमा बसेको, तर बलात्कार नगरेको उनको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।