जनकपुरधाम- जाडो सुरु भएसँगै सेलाउँदै गएको जनकपुरमा चुनावी सरगर्मी भने ह्वात्तै बढेको छ। दशहरा, दीपावली र भाइटीकाको चटारो सकिएपछि छठको तयारीमा जुटेका जनकपुरवासीलाई चुनावको चटारो पनि त्यत्तिकै छ।
मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरु टोल-टोल र घर-घर पुगिरहेका कारण यो वर्षको छठ पर्व पनि थप रमाइलो हुने देखिन्छ। पोखरीका घाटहरुमा उम्मेदवारहरु पुग्ने कार्यक्रम बन्न थालेका छन्। जसरी दशहरा र दीपावलीमा नेताहरु गाउँ-गाउँमा भएका पूजा-महोत्सवमा सहभागी भएका थिए।
जनकपुरका चौक-चौराहादेखि बन्द कोठासम्म हुने छलफल र भेटघाटमा निर्वाचनकै चर्चा हुने गरेको देखिन्छ। बिहान र बेलुकी चोकका चिया पसलदेखि मन्दिरसम्म हुने भीडको विषय निर्वाचन र उम्मेदवार नै छन्।
अघिल्लो पटक यहीँबाट चुनाव जितेका राजेन्द्र महतो पुन: उम्मेदवार किन बनेनन्?, कांग्रेस नेता बिमलेन्द्र निधि किन समानुपातिकतिर गए? यिनै प्रश्नको जवाफ खोजिरहेका भेटिन्छन् मतदाता।
अहिलेका उम्मेदवारहरु अनिल झा, जुली महतो, शम्भु साह, उमेश साह, सत्यनारायण साह लगायतका बारेमा चौतर्फी लेखाजोखा भइरहेको छ जनकपुरमा।
तर, यहाँको राजनीतिलाई लामो समयदेखि नियालिरहेका व्यक्तिहरु भने जनकपुरको प्रवृत्ति अस्थिर खालको भएको विश्लेषण गर्छन्। यद्यपि, यहाँको निर्वाचनमा सधैंझैं तीन वटा पक्ष मात्र हावी हुने गरेको उनीहरुको बुझाइ छ।
२०४६ सालपछि भएका ४ वटा प्रतिनिधि सभा निर्वाचनमा जनकपुरले हरेक पटक नयाँ अनुहार अनुमोदन गरेर पठाएको छ भने दुई पटक भएको संविधान सभा निर्वाचनमा एउटै नेता दोहोरिएको इतिहास छ।
२०४८ को निर्वाचनमा कांग्रेसका महेन्द्रनारायण निधिले जनकपुरबाट जितेका थिए भने २०५१ मा उनका छोरा बिमलेन्द्र निधि यहाँबाट निर्वाचित भए। २०५६ मा निधिलाई राप्रपाका कृष्णप्रताप मल्लले पराजित गरे। त्यसपछि निधि जनकपुरका निर्वाचित जनप्रतिनिधि बन्न सकेनन्।
निधि २०६४ र २०७० मा भएको संविधान सभा निर्वाचनमा जिते पनि जनकपुरलाई नछुने तत्कालीन धनुषा- ३ बाट निर्वाचित भए। जनकपुर समेटिएको निर्वाचन क्षेत्रबाट संविधान सभाका दुई वटै निर्वाचनमा मधेशी पार्टीबाट उम्मेदवार बनेका सञ्जय साह निर्वाचित भए।
साहले दोस्रो कार्यकाल पूरा गर्न भने सकेनन्। २०७० को निर्वाचनमा पुन: निर्वाचित भएका साह केही महिनामै आपराधिक गतिविधिमा मुछिएर प्रहरी खोरमा पुगे र उनको सांसद पद निलम्बित भयो।
दुई कार्यकाल कुनै पनि जनप्रतिनिधिले पूरा गर्न नसकेको जनकपुरको स्थानीय तहमा पनि कुनै पनि मेयर दोस्रो पटक पुन: निर्वाचित भएको छैन।
अस्थिर मनोविज्ञान
मधेश प्रदेशको राजधानी तथा मधेश आन्दोलनको एउटा थलो भएकाले जनकपुरको निर्वाचन माहोलबारे चौतर्फी चासो देखिन्छ।
२०४६ को आन्दोलनताका नेपाली कांग्रेसका नेताहरुको मधेशको केन्द्र पनि जनकपुर नै थियो। पछि दोस्रो जनआन्दोलनदेखि मधेश आन्दोलनसम्ममा मधेशी नेताहरुको केन्द्र पनि जनकपुर नै देखिएको छ।
स्थानीय जानकारहरु नेपालमा २००७, २०४६ देखि तीनै वटा मधेश आन्दोलनमा जनकपुर अग्रणी स्थानमा देखिएको बताउँछन्। ‘आन्दोलनकारी मनोविज्ञान भएका नागरिकहरु राजनीतिमा स्थिर हुनै सक्दैनन्,’ अधिवक्ता बिमल मिश्र भन्छन्, ‘यहाँका नागरिक वा मतदाता चाँडो प्रतिक्रिया जनाउने मनोविज्ञानबाट प्रभावित भएको देखिन्छ।’
त्यसका साथै जनकपुरको विगतको इतिहासले पनि कतै न कतै यहाँको मनोविज्ञान प्रभावित भएको मिश्र बताउँछन्। अहिलेको जनकपुर कुनै बेला राजा जनकको वासस्थान मात्र नभएर उनको बहस र संवादको पनि केन्द्र भएकाले यहाँका नागरिकमा प्रश्न उठाउने चलन रहेको जानकारहरु बताउँछन्।
राजा जनकले आफ्नो समयमा जनकपुरमा तत्कालीन सामाजिक तथा राजनीतिक व्यवस्थाबारे प्रजातान्त्रिक मन्थनहरु गर्ने गरेको इतिहासमा भेटिन्छ।
२००७ को राणा शासन विरुद्धको आन्दोलनमा जनकपुरको मोर्चाबन्दीदेखि तत्कालीन राजा महेन्द्रमाथि बम फाल्ने काम त्यही विगतको इतिहासले मात्रै सम्भव भएको पनि जानकारहरु बताउँछन्।
यद्यपि, जनकपुरमा स्थिर राजनीति हुन नसकेको पनि अहिले विश्लेषण हुन थालेको छ। स्थानीय व्यवसायी राघव साह जनकपुरका धेरै नेता राष्ट्रिय स्तरका भए पनि एक जना नेताले पनि यहाँ दश वर्ष स्थिर रुपमा जनप्रतिनिधि बनेर आफ्नो छवि बनाउन नसक्नु दुखद भएको बताउँछन्।
‘यसले हाम्रा राजनीतिक नेताहरुको छवि र स्तर झल्काउँछ,’ साह भन्छन, ‘जनकपुरको विकासमा अस्थिर राजनीति पनि बाधक रहेको मेरो बुझाइ छ।’
स्थिर चलखेल
जनकपुरको राजनीति सधैं अस्थिर देखिनुमा निर्वाचनका बेला मुख्यगरी तीन वटा तत्व सधैं हावी हुनु हो भन्छन् यहाँका जानकारहरु। स्थानीय जातीय समीकरण, नेताको व्यक्तित्व र पैसाको प्रभावले जनकपुरको निर्वाचनमा हार-जित निर्धारण हुने गरेको जनकपुरका एक युवा अभियन्ता सरोज मिश्र बताउँछन्।
जनकपुर सहितको धनुषा- ३ मा साह र झाको बाहुल्य छ। जनकपुर बजारमा साह र झाको जातीय समीकरणका बारेमा अहिले पनि विभिन्न टिप्पणीहरु हुन थालिसकेको छ। तर यो समीकरणको अन्तिम निर्क्योल सधैंझैं निर्वाचनको अन्तिम हप्तामा मात्रै प्रष्ट हुने गरेको बताउँछन जानकारहरु।
निर्वाचन आचारसंहिताका कारण अहिले ४ मंसिरको निर्वाचनका उम्मेदवारहरु घरदैलाेमा मात्रै सीमित छन् भने आन्तरिक बैठकहरु विभिन्न तहमा बाक्लो गरी भइरहेको देखिन्छ।
कात्तिक १८ देखि उम्मेदवारहरुले सडकमा प्रदर्शन गर्ने शक्तिले को-कति बलियो छ भन्ने देखाउने छ भने पैसा र जातीय समीकरणको प्रभाव निर्वाचनको अन्तिम हप्तामा प्रष्ट हुने जानकारहरु बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।