काठमाडौं– निर्वाचन आयोगले फेसबुकमा गुप्र बनाएर झुट्टा प्रचार नगर्न चेतावनी दिएको छ। आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो।
पछिल्लो समय ’नो, नट अगेन’ नामको एक समूहले वृद्ध नेतालाई विश्राम दिने भन्दै शीर्ष नेताहरूका तस्बिर लगायतका सामग्री बनाएर सामाजिक सञ्जालमा प्रचार गरेको भन्दै आयोगले त्यसलाई रोक्न निर्देशन पनि दिएको छ।
’प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि दलहरूको उम्मेदवारी दर्ता भइसकेको सन्दर्भमा ''No, Not Again", "NO NOT AGAIN" र "No. Not again" समेतका फेसबुक पेज/ग्रुपहरूबाट निर्वाचनमा उम्मेदवार रहेका दलका नेताहरूबारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य/श्रव्यदृश्य सामग्री प्रकाशन गरेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ आयोगले भनेको छ,’ उल्लेखित कसूर गर्ने व्यक्तिहरूलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको हुँदा झुठा फेसबुक पेज /ग्रुपहरू तत्काल हटाइ उप्रान्त यस किसिमका गतिविधि नगर्न सम्बन्धित सबैलाई जानकारी गराइन्छ। साथै, उक्त फेसबुक पेजग्रुपहरू तत्काल नहटाइएमा प्रचलित कानूनबमोजिम कारबाही हुने ब्यहोरासमेत जानकारी गराइन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।