काठमाडौं– हरेक आमनिर्वाचनमा पुरुष उम्मेदवारहरुकै बीच प्रतिस्पर्धा हुने जुम्लामा यसपपटकको भने परिस्थिति भिन्न छ। मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ पाँच जना प्रतिस्पर्धामा छन्। जसमध्ये एक जना महिला छिन्, नेकपा माओवादी केन्द्रकी गोमा गौतम कुँवर। कर्णालीका १० जिल्लाका १२ सिटमा प्रत्यक्षतर्फ ठूला दलले उम्मेदवार बनाएकामध्ये गोमा एक्ली महिला उम्मेदवार पनि हुन्।
गोमासँग राप्रपाका ज्ञानेन्द्र शाही र एमालेका रतननाथ योगी लगायत प्रतिस्पर्धामा छन्। गठबन्धनको साझा उम्मेदवार समेत रहेकी गोमाले जित निकालेमा जुम्लाको आमनिर्वाचन इतिहासमा प्रत्यक्षतर्फ निर्वाचित हुने उनी पहिलो महिला बन्नेछिन्।
माओवादी केन्द्रका सो भेगका अन्य नेताको तुलनामा सहज र भद्र मानिन्छिन्, गोमा । तर, उनको राजनीतिक यात्रा भने त्यति सहज छैन।
प्रहरीले गाउँ–गाउँ खोज्न थालेपछि भूमिगत
२०३९ साल माघ ४ गते जन्मिएकी कुँवर परिवारकी जेठो सन्तान हुन्। माओवादी भर्खर भूमिगत भएको थियो। तै पनि सुरुआती चरणमा त्यति प्रभाव भने थिएन। माओवादीका नेता कार्यकर्ता विद्यालयमा पुगेर संगठन विस्तार गर्न सक्रिय थिए। त्यसै क्रममा संगठन विस्तारका लागि कालीकोटका माओवादी नेता गणेश शाही (जो अहिले खाँडाचक्र नगरपालिकाका उपमेयर हुन्) गोमा अध्ययन गर्ने विद्यालयमा संगठन विस्तारका लागि आए।
२०५४ सालतिर होला उनी कक्षा ७ मा अध्यनरत थिइन्। संगठन विस्तारका क्रममा उनी माओवादीको विद्यार्थी संगठनमा आवद्ध भइन्। विद्यार्थी संगठनका हरेक क्रियाकलापमा उनको सक्रिय सहभागिता रहन्थ्यो। भर्खर माओवादी द्वन्द्व चर्किँदै थियो। प्रहरीले माओवादीमा आवद्ध भएकाहरुलाई खोजी गर्न सुरु गरेको थियो।
राजनीतिमा नलाग्न परिवारका सदस्यले गरेको आग्रहलाई नकार्दै उनी समाज परिवर्तनका लागि सक्रिय हुँदै गइन्। जिल्लामा माओवादीको विद्यार्थी संगठनका नेताहरुमध्ये गोमाको नाम चर्चित हुँदै गयो। ‘संगठनले जुनसुकै कामका लागि पनि मलाई खटाउन थाल्यो। दुई वर्षको अवधिमा मेरो नाम सबैतिर पुगिसकेको थियो’, उनी भन्छिन्।
त्यसबेला प्रहरीले गाउँ–गाउँमा पुगेर माओवादीमा आवद्ध भएकालाई खोजी–खोजी पक्राउ गर्न थाल्यो। गोमाको नाम पनि प्रहरीको खोजीको सूचीमा पर्यो। प्रहरीले गाउँ–गाउँ गएर खोज्न थालेपछि किशोरावस्थाकी गोमालाई न गाउँमा बस्न सहज भयो, न स्कुलमा अध्ययनमा नै।
‘स्कूल जान पनि समस्या भयो। घरमा पनि कतिबेला प्रहरी आउने हो भन्ने त्रास परिवारका सदस्यलाई भयो। बस्नै नसक्ने अवस्थामा पुगेपछि हामीले भूमिगत हुने निर्णय गर्यौं’, उनी भन्छिन्।
त्यसपछि गाउँका मनिकेष गौतम, गणेश गौतम, लक्ष्मिप्रसाद उपाध्याय र कक्षा १० मा अध्ययनरत गोमा २०५६ सालमा औपचारिक रुपमै माओवादी द्वन्द्वमा होमिए।
भूमिगत भए पनि उनी विद्यार्थी संगठनकै काममा आवद्ध भइन्। नेतृत्व गर्ने अब्बल क्षमताका कारण पनि पार्टीका औपचारिक कामहरुमा उनलाई खटाइयो। ‘दैनिक प्रहरी आएपछि घरमा कसरी बस्नु? जेठी छोरी केही भइहाल्ने हो कि भन्ने पिर आमाबुवालाई छुट्टै। त्यसैले थाहै नदिएर भाग्यौं। केही दिनसम्म त खोज्नुभएछ। तर, पछि गाउँबाट चारै जना एकपटक भागेकाले माओवादीमा गइहोला भनेर खोज्न छाडेछन्’ उनी भन्छिन्।
बहिनीलाई आमाको कोशेली पनि दिन पाइनँ
उनी युद्धमा होमिनेबेलासम्म कर्णालीमा माओवादी र प्रहरीबीच चर्को दुश्मनी भइसकेको थियो। प्रहरीले माओवादीमा गएका परिवारका सदस्यलाई पनि दुःख दिन थालेको थियो। गोमाकी बहिनी तिर्खा पनि किशोरावस्थामा प्रवेश गर्दै थिइन्।
दैनिक घरमा आएर उनका बारेमा सोधपुछ गर्ने र बहिनीलाई प्रहरीले दुःख दिन थाल्यो। ‘कतिबेला आएर माओवादी भएको आरोपमा पक्राउ गरेर लैजाने हो भन्ने त्रासले बहिनी पनि घरमा बस्ने अवस्था भएन,’ गोमा भन्छिन्, ‘हैरान भएपछि उ पनि युद्धमा होमिइछ।’
तर, बहिनी युद्धमा होमिएको उनले दुई महिनापछि मात्रै थाहा पाइन्। २०५९ मा भूमिगत भएकी तिर्खा जनमुक्ति सेनामा भर्ती भइन्। दिदी संगठनमा विद्यार्थी र महिलाको नेतृत्वको काम गर्ने बहिनी भने युद्धमा सेनासँग भिड्ने।
‘हाम्रो जिम्मेवारी फरक–फरक भएकाले खासै भेट हुँदैनथ्यो। सुरुसुरुमा त मैले गाली पनि गरेँ। तर, पछि गाउँमा बस्नै नसक्ने अवस्था भएपछि युद्धमा होमिएकोमा ठिकै लाग्यो’, उनले भनिन्।
२०६०/०६१ मा गोमा जनकमिसारमा हुँदा भने दुई बहिनीको प्राय भेट हुन्थ्यो। २०६२ साउन दोस्रो सातातिर पार्टीले गोमालाई संगठनको कामका लागि जाजरकोटमा खटायो। त्यसबेला गोमा घर पुगेकी थिइन्। कालीकोटको पीलीमा सडक खन्नका लागि बसेका सेनामाथि माओवादीको आक्रमण गर्ने योजना बनिसकेको थियो। दुई बहिनीबीचमा पिली आक्रमणपछि भेट गर्ने कुरा भएको थियो।
तर गोमालाई तत्काल जाजरकोट जानुपर्ने भएपछि उतै भेट्नेगरी गोमा बहिनीका लागि आमाले दिएको कोशेली बोकेर जाजरकोट हिँडिन्। २०६२ साउन २३ गते जनमुक्ति सेनाको पश्चिम डिभिजनले पिलीमा रहेको सेनाको क्याम्पमा आक्रमण गर्यो।
आक्रमणपछि तिर्खा सेनासहित दैलेखतिर लागिन्। दुई बहिनीबीचमा जाजरकोटमा भेट्ने सल्लाह थियो। तर, भदौ ३ गते दैलेखको देउली काँडामा सेना र माओवादीबीच भिडन्त भयो। सेनाको गोली लागेर तिर्खा त्यही ढलिन्। यता आमाले दिएको कोशेलीसहित बहिनी कुरेकी गोमाले दुई सातासम्म बहिनी बितेको खबर नै पाइनन्। ‘उहाँ(पति वीरबहादुुर कुँवर)लाई थाह रहेछ। तर भन्नुभएन। दुई हप्तापछि मात्रै थाहा पाएँ। बहिनी आउली भनेर आमाले दिएको कोशेली राखेकी थिएँ। तर, उसलाई दिन पाइनँ। एक वर्षदेखि भेट भएको थिएन। सेनाको दबदबाका कारण बहिनीको मुहार हेर्न पनि पाइनँ।’
आराम गर्नेबेला भर्खर जन्मिएको बच्चा च्यापेर दौडिनुपर्यो
माओवादी द्वन्द्वमा होमिएकाहरुलाई आफ्नै जीउ जोगाउन मुस्किल भइरहेका बेला परिवार हुर्काउने कुरा त्यति सहज थिएन। जनमुक्ति सेना वीरबहादुर कुँवरसँग २०५६ चैत्र १८ गते विवाह गरेकी गोमाले पहिलो सन्तानका रुपमा २०६१ कात्तिक १२ गते छोरालाई जन्म दिइन्।
एक त कतिबेला कुन ठाउँमा सेनाले भेटाउँछ र मार्छ भन्ने त्रासका बीच ज्यान जोगाउँदै गरेका बेला गर्भवती शरीर लिएर लुक्नु आफ्ना लागि सबैभन्दा कठिन समय भएको गोमा बताउँछिन्।
कालीकोटको रताडा गाउँको एक गोठमा उनले बच्चा जन्माइन्। ‘कसैको घरमा बस्ने अवस्था थिएन्। जतातजै सेना गस्तीमा हिँडिरहेको थियो। हिँडदै गर्दा बाटैमा व्यथा लाग्यो। केही साथीहरु थिए साथमा। रताडा गाउँको जंगलमा एउटा गोठ भेटियो। त्यसैमा बच्चा जन्माएँ,’ प्रशव पीडा सम्झिँदै उनी भन्छिन्, ‘न साल काट्ने औजार थियो, न सुत्केरी गराउने सुडेनी नै।’
बच्चा जन्माएपछिको दौडाई बच्चा जन्माउनुभन्दाको भन्दा बढी पीडादायी भएको उनको अनुभव छ। ‘बच्चा त जन्मियो। एकै ठाउँमा बस्ने अवस्था थिएन। भर्खरकी सुत्केरी बच्चा च्यापेर भाग्दै हिँड्नुपर्यो’, उनले सुनाइन्।
एकै घरमा लुकेका पाँच जना गुमाउँदा
२०५८ जेठ २८ गते उनीहरु पार्टीको कार्यक्रमका लागि कुडारीको एउटा घरमा बसेका थिए। हाल शिक्षक गोर्ख बुढाको घरमा लुकेर गोमासहित ११ जना माओवादीका नेताहरु छलफल गर्दै थिए।
त्यतिकैमा प्रहरीले सूचना पाएर चारैतिरबाट घेरिहाल्यो। उनीहरु फुत्किन निकै सकस भयो। कोही हाम फाले त कोही दौडिन थाले। धेरै संख्यामा आएका प्रहरीसँग माओवादीको भीडन्त भयो। जसमा चार जना प्रहरीको गोली लागेर घटनास्थलमै मरे।
गोमासहित ६ जना भने भाग्न सफल भए। ‘हामी भागिहाल्यौं। चार जना त्यहिँ ढल्नुभयो। एक जनालाई जिवितै पक्राउ गरे। एकैछिनअघि साथैमा रहेका साथीहरु मृत्युका शय्यामा पुग्नुभयो। हामी धन्न बाच्यौं’, गोमा विगत सम्झिँदै भन्छिन्।
पछि जोगिवाडा हुँदै आएका अर्का माओवादी कार्यकर्तालाई पनि प्रहरीले कुडारीमै पक्राउ गर्यो। पक्राउ परेका दुवै जनालाई प्रहरीले तोतोपानीको धौलापानीको भीरमा लगेर गोली हानी खसाल्यो। ‘अरु दुःख त धेरै पाइयो। तर, जीवमा भेट्नै नपाइ बहिनी गमाउँदाको क्षण र कुडारी भिडन्त मेरा लागि बिर्सिन नसकिने घटना हुन्’, उनी भन्छिन्।
पार्टी संगठनदेखि मन्त्रीसम्म
पार्टीमा भूमिगत हुँदादेखि नै उनी महिला संगठनमा आवद्ध थिइन्। त्यहाँ उनले नेतृत्व मात्रै होइन, तत्कालीन व्यवस्थाविरुद्ध महिला र अल्पसंख्यकलाई जागरुक बनाउने काम गरिन्। सोही कारण पनि उनलाई पार्टीले एरिया र जिल्ला इन्चार्ज हुँदै प्रदेश कमिटीमा राख्यो। शान्ति प्रक्रियामा आएपछि भने उनी २०६४ सालमा अखिल क्रान्तिकारी महिला संगठनको क्षेत्रीय संयोजक बनिन्।
कुँवर अहिले पार्टीको केन्द्रीय सदस्य र महिला संगठनको केन्द्रीय सचिव हुन्। शान्ति प्रक्रियापछि उनले आन्तरिक संगठनमा भूमिका निभाइन्। २०७० सालको दोस्रो संविधान सभा निर्वाचन पछि भने समानुपातिक सांसद बनिन्।
२०७४ को सरकारमा उनी माओवादीका तर्फबाट कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री भइन्। सानैदेखि विद्यार्थी राजनीतिबाट माओवादी पार्टीमा सक्रिय गोमाका लागि मूलधारको राजनीतिमा आफ्नो अस्तित्व बनाउन त्यति सजिलो थिएन।
समानताका लागि लडेका साथीबाटै महिलाले जित्दैन भनियो
एक त नेपालमै एकाधबाहेक राजनीतिमा महिलालाई त्यति सहज छैन। नेतृत्वले सकभर पत्याउँदै नपत्याउने पत्याइहाले पनि नेतृत्वमा पहुँच भएका महिलाले मात्रै अवसर पाउने प्रवृत्ति छ। अझ पुरुष नै राजनीतिको मूल नेतृत्वमा पुग्न नसकेका जुम्लाका लागि गोमाले आफ्नै पार्टीभित्र पनि प्रतिस्पर्धा गर्नु कम्ता चुनौतीपूर्ण होइन।
आगामी निर्वाचनका लागि माओवादी पार्टीले प्रत्यक्षतर्फ मनोनयन गर्नु एक दिनअगाडि मात्रै टिकट टुंग्याएको थियो। गठबन्धनबाट माओवादीको भाग परेको जुम्लामा प्रतिनिधि सभाका लागि तीन जना सिफारिसमा परेका थिए।
पहिलो संविधानसभा सदस्य तथा कर्णाली प्रदेश सकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री भइसकेका नरेश भण्डारी, पत्रकार तथा लेखक मनऋषि धिताल र गोमा गौतम कुँवर। २२ गते फाइनल गरेको माओवादीले गोमा कुँवरको नाम प्रतिनिधि सभाका लागि सार्वजनिक गर्यो। २३ गते मनोनयनको कार्यक्रम थियो। सोही कारण उनी २२ गते बिहान ११ बजेतिर मनोनयन दर्ताका लागि जुम्ला जाने तयारीमा थिइन्। झोला बोकेर सुर्खेतको डेराबाट निस्कँदै गर्दा प्रदेश इन्चार्जको फोनले उनका पाइला रोकिए। एकाएक, ‘कमरेड दुःख नमान्नुहोला। मनोनयन गर्न जान नपर्ने भयो। यहाँ धेरै कुरा मिलाउनुपर्ने भएकाले मनऋषिजीको नाम सिफारिस भयो।’
प्रदेश इन्चार्ज कालीबहादुर मल्लको यो जवाफले उनको मन खिन्न भयो। किनकी काठमाडौंमा छलफल हुँदै गर्दा टिकटका आकांक्षीहरुले जुम्लामा महिला उम्मेदवार बनाइए माओवादीले निर्वाचन गुमाउने तर्क गरेका थिए।
आफ्नो पक्षमा माहोल बनाइरहेका राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीसँग महिला उम्मेदवारले जित्न नसक्ने भन्दै पुरुष उम्मेदवार बनाउन गरेको लबइङ पास भएको उनले महशुस गरिन्। ‘जे भए पनि पार्टीले भनेको मान्नै पर्यो। तर, महिला भएकै कारण हार्न सकिन्छ भन्ने तर्कले भने निकै दुःख तुल्यायो। हिजो महिला पुरुष समान भनेर समाज बदल्न हिँडेका सहकर्मीले नै महिला भनेर पहिल्यै हारजितको कल्पना गरेकोमा पीडाबोध भयो’, उनी भन्छिन्।
दिनभर मनऋषि धितालले टिकट पाएको भन्दै सामाजिक सञ्जालभरी प्रचारप्रसार भयो। मनोनयनका लागि जुम्ला जान लागेकी गोमा सुर्खेतमै रोकिइन्। तर, २२ गते मध्यराति उनलाई पार्टीको केन्द्रीय नेतृत्वबाट फोन आयो, ‘गोमा जी टिकट तपाइँलाई नै भयो। मनऋषिजीको कुरा मिलेन। अब मनोनयन दर्ताको तयारी गर्नुहोस्।’
आफ्नै पार्टीबाट अन्तर्घातको डर
टिकट पाएदेखि नै उनी प्रसार प्रसारका लागि मैदानमा होमिएकी छन्। तर, उनलाई अहिले सबैभन्दा ठूलो चुनौती माओवादीभित्रकै नेताहरु बन्ने देखिन्छन्। बौद्धिक र नेतृत्व गर्न सक्षम हुँदा हुँदै पनि आफूलाई टिकट नदिइएको भन्दै सामाजिक सञ्जालमै आकांक्षी नरेश भण्डारीले तिक्तता पोखेका छन्।
उसै पनि जुम्लामा माओवादीभित्र दुई गुट निकै हावी छ। माओवादीसँग बैद्यहरु टुक्रिँदा सँगै गएका नरेश भण्डारीले २०७० को निर्वाचनमा माओवादीकै उम्मेदवार गजेन्द्रबहादुर महतलाई हराउन भूमिका खेलेका थिए।
भण्डारी र महत एक अर्काका खरो प्रतिस्पर्धी हुन्। गोमा महत पक्षतिरकी हुन्। त्यसैकारण पनि भण्डारीले खुलेर सहयोग गर्नेमा आशंका छ। भण्डारी र उनी निकटका नेताहरुका अभिव्यक्ति हेर्दा पनि त्यस्तो आकलन गर्न सकिन्छ। यस्तै, मनऋषि धिताल पनि पाएको टिकट फुत्किएपछि त्यति सन्तुष्ट देखिँदैनन्। उनी निकटका नेताहरुले पनि भेगीय कुरा उठाउँदै सिँजा क्षेत्रलाई अवसर दिनबाट पार्टी चुकेको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि पोखिरहेका छन्।
गठबन्धनबाट प्रदेशसभा (क) मा कांग्रेका उम्मेदवार ललितजंग शाही छन्भ ने प्रदेश सभा (ख) मा एकीकृत समाजवादीका पदमबहादुर रोकाया छन्। जुम्लाका ८ वटा स्थानीय तहमध्ये गत वैशाखको नतिजा अनुसार कांग्रेस बलियो छ। पाँचवटा पालिकामा कांग्रेसले जितेको छ भने माओवादीले २ पालिकामा जितेको छ। नगरपालिकामा भने स्वतन्त्र उम्मेदवारले जिते। २०७४ को स्थानीय तह निर्वाचनमा पहिलो शक्ति देखिएको माओवादी गत निर्वाचनमा दोस्रो हुन पुग्यो।
स्थानीय तह निर्वाचनमा तातोपानी गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका जिल्ला संयोजक तथा गोमाका पति वीरबहादुर कुँवर पराजित भएपछि पार्टीमा असन्तुष्टि त छँदैछ। गठबन्धनको प्रमुख घटक कांग्रेसले कस्तो साथ दिन्छ भन्नेमै गोमाको आगामी संसदीय यात्रा तय हुने देखिएको छ।
महिला सशक्तिकरण र पूर्वाधार विकास मुख्य अजेन्डा
यतिबेला गोमा आफ्ना अजेन्डा लिएर चुनावी मैदानमा छिन्। उनका खासै ठूला र महत्वाकांक्षी योजना भने छैनन्। उनले कर्णालीको विकटतालाई चिर्न सडक सञ्जाललाई नै प्राथमिकताका साथ आफ्नो अजेन्डा बनाएकी छन्।
डेढ दशकसम्म स्तरोन्नति हुन नसकेको कर्णाली राजमार्गको स्तरवृद्धि, जुम्लाबाट जाजरकोट, मुगु, डोल्पा र कालीकोट हुँदै बाजुरासम्म स्तरीय सडक सञ्जालको विस्तार गर्ने आफ्नो मुख्य अजेन्डा भएको गोमा बताउँछिन्।
उनको दोस्रो प्राथमिकता महिला सशक्तिकरणतर्फ छ। कर्णालीका महिलालाई राजनीतिक, प्रशासनिक र सामाजिक क्षेत्रमा अब्बल बनाउनु आफ्नो लक्ष्य रहेको उनको भनाइ छ। ‘एक त यहाँका मानिसको नेतृत्वमा पहुँच पुग्दैन। झन् त्यसैमाथि महिला त चुलाचौकाभन्दा बाहिर निस्कन सकेका छैनन्,’ उनी भन्छिन्, ‘म उनीहरुको सशक्तिकरणको आवाज बन्नेछु। हरेक तहमा कर्णालीका महिलाको पहुँच बढाउन मेरो प्राथमिकता रहेछ।’
यस्तै उनले सूचना तथा सञ्चारको विस्तारलाई पनि आफ्नो चुनावी अजेन्डा बनाएकी छन्। कम्तीमा पनि निर्वाचित भइसकेपछि हरेक गाउँमा टेलिफोन लाग्ने बनाउन पहल गर्ने उनी बताउँछिन्। अहिले पनि कर्णालीका कैयौं गाउँमा एक कल फोनका लागि अग्लो डाँडामा जानुपर्ने अवस्था छ। यस्तै, खेलकुदका संरचना विस्तार, जुम्लामा हाइअल्टिच्युट ट्रेनिङ सेन्टर स्थापना, कृषिलाई आधुनिकीकरण र एकीकृत वस्ती विकासलाई जोड दिने उनका चुनावी अजेन्डा हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।