वन्डरफुल गाइज (पंतिकारसहितका केटाहरुको समूह)ले यस वर्षको दशैं बिदाको गन्तव्य मनाङ, तिलिचो ताल तय गरिसकेका थियौं। अघिल्लो दशैंमा अपर मुस्ताङ (नेपाल–चीन कोरला नाका) पुगेर फर्किएपछिको लामो यात्रा तिलिचोका लागि तय भएको थियो।
८ जनामध्ये २ जनाको तिलिचो यात्रा धर्मराउँदो नै थियो, पारिवारिक कारणले। अरु भने परिवारमा हल्का म्यानेज गरेर निस्किने सुरमा थियौं। सपिङ पनि भइसकेको थियो। ट्राउजर, ज्याकेट, ट्रेकिङ सुज (जुत्ता), ट्रेकिङ पोल (लौरो) किनिसकेपछि निर्धक्कजस्तै थिए सबैजना।
तिलिचो यात्राको रोमाञ्कतालाई कल्पिँदै मनमा अनेक लड्डु फुटिसकेका थिए, सबैका। यात्रा सुरु हुने दिन नजिकिँदा मनमा मनाङे घाम झुल्किसकेको थियो। तर, आकाश भने कालो हुँदै थियो।
दशैंको टीकाकै दिन काठमाडौंको आकाश बादलले भरियो। मौसमविद्हरु नेपालमा अझै मनसुन सक्रिय रहने भन्दै भारी वर्षाको चेतावनी दिइरहेका थिए। हामीले भने टीकाको दोस्रो दिन (असोज २० गते) काठमाडौं छाड्ने निधो गरिसकेका थियौं।
तर, १९ गतेदेखि सुरु भएको वर्षा रोकिने छाँट थिएन। एक निमेष पानी वर्षिरहेको थियो।
‘दादा यार, पानी रोकिने छाँटै छैन नि! कसरी जाने हो मनाङ?’ दशैंका लागि घर (बागलुङ) पुगेका प्रेम सिरीसले फोनवार्तामा गहिरो चिन्ता व्यक्त गरे। उनको जस्तै चिन्ता सबैको मनमा थियो– पानी रोकिएन भने घरबाट कसरी निस्किने?
साथी कश्यप न्यौपाने छिनछिनमा मौसम अपडेट गरिरहेका हुन्थे, म्यासेन्जर ग्रुपमा। ‘अझै १ हप्ता आकाश खुल्दैन रे!’ मौसम पूर्वानुमान महाशाखाको लेटेस्ट बुलेटिन सेयर गर्दै २० गते बिहानै कश्यपले ग्रुपमा लेखे।
‘दादाहरु, अहिले नगएकै राम्रो। झरीबादलमा निस्किन घरकाले पनि दिँदैनन्…’ पिताजी कराएपछि दशैं नभए पनि घर (इटहरी) पुगेका राजेन्द्र पोखरेलले स्माइली इमोजीसहित ग्रुपमा लेखे। उनको भनाइ हुन्थ्यो, ‘तिलिचो यात्रा डेञ्जर छ। जान सकिँदैन।’
काठमाडौंबाट कश्यप र म निस्किने थियौं। नुवाकोटबाट आभास पाण्डे गल्छीमा जोडिने तय थियो। तर, गल्छी–त्रिशुली सडकखण्ड पहिरोले रोकिएपछि उनी आउने सम्भावना पनि कमजोर भयो।
‘पानी त यता पनि रोकिएको छैन दादा, तपाईंहरु आउने हो कि के गर्ने?’ तिलिचो यात्राका लागि सबैभन्दा बढी लालायित राजन घिमिरेले म्यासेन्जरमा लेखे। दशैं मनाउन घर लमजुङ पुगेका उनी हामी काठमाडौंबाट हिँड्ने प्रतिक्षामा थिए।
साँझ परिसक्यो। तर पानी रोकिने छाँट थिएन।
००००
२१ गते विहान भने सूर्यको किरण झुल्कियो। काठमाडौंको आकाशमा बादल अलिक पातलो भयो, हाम्रो यात्राको सम्भावना बाक्लियो। कश्यप र म बिहान ११ बजे काठमाडौंबाट हिँड्ने सल्लाह भयो। कलंकीमा भेट्यौं दुवै जना।
नागढुङ्गा नाका कटेर ओरालो लाग्दा हल्का पानी वर्षियो। पानी जति नै परे पनि हामीले यात्रा भने नरोक्ने अठोट गरेका थियौं। बाइकका पाङ्ग्रा बटार्दै पृथ्वी राजमार्ग नापिरहँदा बादलले घामसँग लुकामारी खेल्दै थियो। कुहिरोको घुम्टो हट्दै गयो। डाँडाहरु उज्यालिँदै गए।
बागलुङबाट प्रेम र गगन अविदित लमजुङ आउने तय थियो। उनीहरुलाई भने मौसमले साथ दिएन। दर्के झरीका बीच उनीहरुले पनि मोटरसाइकलको एक्सेलेटर बटारिसकेका थिए। साँझ ६ बजेतिर डुम्रेमा भेट्ने तय भयो।
गल्छीबाट आभास पनि मिसिए। साँझ ६ बजे नै डुम्रे पुग्यौं। तर, प्रेम र गगन भने झरीका कारण समयमै पुग्न सकेनन्। हामीले डुम्रेमा खाजा खाएर प्रतीक्षा गर्यौं। तर उनीहरु आएनन्।
‘तपाईंहरु बेसीशहर पुग्दै गर्नोस्। डुम्रेमा बस्नुभन्दा उता होटल पनि म्यानेज हुन्छ,’ फोनमार्फत् गगनले सुझाव दिए। हामी बेसीशहरतिर लाग्यौं। राजन भोटेओडारमा थिए। हामीलाई लिनभन्दै केही वरसम्म आए।
राजनले फोनमार्फत् नै बेसीसहरको होटल टुकुचेमा गास र बासको प्रबन्ध मिलाइसकेका रहेछन्। हामी सिधै होटल टुकेचेतिरै लाग्यौं।
टुकुचे पुग्दा रातिको १० बजिसकेको थियो। हल्का फ्रेस हुँदै डाइनिङ हलतिर लाग्यौं। एउटा कुनामा ३–४ जना युवा तिलिचो यात्राबारे कुरा गर्दै खाना खाइरहेका थिए। ‘भोलि पनि बाटो खुलेन भने त तिलिचोको माया मारे हुन्छ जिक्री,’ खाइलाग्दो ज्यान भएका एक युवक जुठो हात लिएर टेबलबाट उठे। बेसनमा हात धोएर फर्किरहँदा कश्यपले उनलाई सोधिहाले– तपाईंहरु पनि तिलिचो जाने?
‘खै दाइ, बाटो खुलेन भने त कसरी पुगिएला र,’ अर्का युवक टेबुलबाट बोले।
‘बाटो बन्द छ हो?’
‘बन्द मात्रै छ र, खत्तमै छ नि! बाटो खुल्ला कि भनेर जान्छौं, खुल्दैन। फेरि फर्केर यहीँ आइपुग्छौं। ३ दिन भइसक्यो हामी यहाँ बस्न थालेको,’ उनलाई पनि आफ्नो पीडा कसलाई सुनाउँ भइरहेको थियो सायद, हामीसँग सर्लक्कै खुले।
ती युवकले सुनाएअनुसार लमजुङकै धेरै ठाउँमा पहिरोका कारण बाटो अवरुद्ध रहेछ। बेसीशहरबाट करिब २० किलोमिटर पनि गुड्न नपाउँदै मोटरसाइकल अगाडि बढाउन नसकेर फर्केर आउने गरेका रहेछन् उनीहरु।
प्रेम र गगन पुग्न रातिको १२ बज्यो। उनीहरु नपुग्दै हाम्रो यात्रामा भने अनिश्चयको बादल मडारिसकेको थियो– बाटो खुलेन भने कसरी जाने?
००००
राति ढिला सुतेका कारण बिहान उठ्दा १० बजिसकेको थियो। उठेर सर्वप्रथम मनाङ चौतारो पुग्नुपर्ने थियो हामीले। चामे–बेसीशहर चल्ने गाडी (जीप)हरु रोकिने रहेछन् त्यहाँ।
बाटोको बारेमा हामीले स्थानीय जनप्रतिनिधि, प्रहरी र स्थानीय प्रशासनका अधिकारीसँग पनि बुझ्यौं। तर, अवस्थाको ताजा अपडेट भने गाडीवालाबाटै पाइने रहेछ। मनाङ चौतारोमा एक जीपवाला भेटिए। लमजुङ जिल्लामा पर्ने सडकखण्डका पहिरो हटेर बाटो खुलेको सुखद् समाचार सुनाए उनले, तर दु:खद विकल्पसहित।
‘तपाईंहरु बाइकमा हो भने नजानोस् है। झन् यो बुलेट त भैंसी बसेजस्तै हुन्छ हिलोमा। कसरी निकाल्ने?’ राजनको रोयल इन्फिल्डतिर औंला सोझ्याउँदै उनी बोले। ‘मिलाएर लैजान्छु, गाडीमा जाउँ’ भन्ने प्रस्ताव थियो उनको। तर हामीलाई भने बाइक राइडिङको पनि मजा लिनु थियो।
क्रमश…
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।