बाल्यकाल जागिरे बुवासँगै देश डुलेर बित्यो। युवावस्थाको जोस विदेशको 'मोह'मा सकियो। ४० कटेपछि बल्ल ठेगाना मिलेको छ– शिवपुरी जंगलको छेउ। जहाँबाट सुरु भइसकेको छ एउटा योजना, जुन पर्यटन क्षेत्रमा 'क्रान्ति' हो उनका लागि।
भक्तपुरको ताखेल (चागुनारायण नगरपालिकामा–९) मा जन्मिएका मोहन थापा उमेरले ४३ टेकिसकेका छन्। तर, उनको योजनाले भने बल्ल किशोरावस्थाको वय समातेको छ। अब त्यही योजनालाई वयस्क बनाउन बाँकी समय खर्चिने सुरमा छन् थापा।
नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर–१ (चिसापानी), शिवपुरी निकुञ्जको छेउमा 'शिवपुरी जंगल भ्यू रिसोर्ट' खोलेका छन् मोहनले। उनका लागि यो रिसोर्ट मात्रै होइन, एउटा नयाँ प्रयोग पनि हो। भन्छन्– यसलाई एग्रो रिसोर्टको रुपमा विकास गर्ने योजना छ।
मावलीको ४० रोपनी जग्गा भाडामा लिएका उनी त्यहाँ भैँसीदेखि बंगुर पाल्ने योजनामा छन्। दुधदेखि मासुका लागि आत्मनिर्भर हुनेछ उनको रिसोर्ट। कृषिजन्य उत्पादन त हुने नै भयो! 'मैले सोचेअनुसार काम भयो भने यो नेपालकै नमूना रिसोर्ट हुनेछ,' आत्मविश्वासका साथ योजना सुनाउँछन् मोहन।
परिवारले भक्तपुरको ताखेल छाडेर काठमाडौंको कपनमा स्थायी बास बनायो। ९ वर्षको उमेरमा कपन हिँडेका उनी त्यसपछि भने देशका धेरै ठाउँ पुगे। भन्सार विभागका जागिरे बुवाको सरुवासँगै उनको पनि बासस्थान फेरिरहन्थ्यो। पूर्वको विराटनगरदेखि सुदूरपश्चिमको धनगढीसम्म पुगे उनी, बुवासँगै।
एसएसली पास गरेपछि विज्ञान विषयबाट प्रविणता प्रमाणपत्र तह (आईएस्सी) उत्तीर्ण गरे। स्नातकमा विषय परिवर्तन गर्न मन लाग्यो। शंकरदेब क्याम्पसबाट बीबीएस सक्काए। उनले बीबीएस सकाउँदाताका विदेश पढ्न जाने लहरले रफ्तार लिएको थियो। उनीपनि त्यसैमा मिसिए, र अस्ट्रेलिया पुगे।
पढाइसँगै आम्दानी पनि, अस्ट्रेलियामा राम्रै थियो। तर, स्वास्थ्यले साथ दिएन। दाहिने हातका ३ वटा औंला नचल्ने समस्या देखियो। चेक गराउँदा चिकित्सकले 'लिगामेन्ट'मा समस्या भएको बताए। अस्ट्रेलियाभन्दा नेपालमै कम खर्चमा उपचार हुने भएपछि नेपाल आए, बिदा मिलाएर। उपचार सकेर पुन: अस्ट्रेलिया फर्किए। तर, हातका औंलाको समस्या फेरि दोहोरियो। त्यसपछि उनी सधैंका लागि स्वदेश फर्किए।
अस्ट्रेलियाबाट फर्किएपछि ५–७ वर्ष त्यत्तिकै बिते। 'के काम गर्ने, कसरी गर्ने भनेर सोच्दासोच्दै धेरै वर्ष बिते,' मोहन सुनाउँछन्। तर, मावलीको जग्गा मिल्ने भएपछि फाइनल डिसिजन गरे– अब 'क्रान्ति' गर्नुपर्छ। उनको बुझाइमा 'क्रान्ति' आफैंबाट, आफ्नै लागि हो।
कोरोना भाइरसको दोस्रो लहरले आफ्नो असर बढाउँदै थियो। मोहनले भने शिवपुरी जंगलको छेउमा भाडामा लिएको जमिन खोस्रिन सुरु गरे। १ वैशाख २०७८ मा उनले शिवपुरी भ्यू रिसोर्ट सञ्चालनमा ल्याए। रिसोर्ट खुलेको २ हप्ता वितेको थिएन, लकडाउन (निषेधाज्ञा) सुरु भयो।
सञ्चालनमै रहेका होटल, रेस्टुरेन्ट, रिसोर्टहरु पनि कोरोनाका कारण बन्द भइरहेका थिए। मोहनलाई भने कोरोनाले नयाँ सम्भावना बोकेर ल्याउँछ भन्ने लाग्यो। उनले आफ्नो कामलाई रोकेनन्। रिसोर्टका लागि आवश्यक संरचना बनाए। खेती गर्न मिल्ने जग्गामा तरकारी रोपे। विस्तारै आत्मविश्वास बढ्दै गयो।
'कुनै काम आँट्यो भने पो सफलताको कुरा हुन्छ। गर्दै गए कसो प्रतिफल नमिल्ला भनेर आँट गरियो,' मोहन भन्छन्, 'अहिलेको अवस्थासम्म आइपुग्दा आशा झन् बढेको छ, आत्मविश्वास बलियो भएको छ।'
४० रोपनी जग्गामा बंगुर, बाख्रा, कुखुरा पाल्ने योजना छ उनको। सँगै तरकारी खेती पनि गर्ने। 'यहाँ आउने मानिसले एउटा पूर्ण एग्रो लाइफको अनुभव लिउन् भन्ने मेरो अपेक्षा छ। आफ्नै बारीको तरकारी टिपेर गेस्ट (पाहुना)लाई खुवाउने हो,' आफ्नो एग्रो रिसोर्टको विशेषता सुनाउँदै मोहन भन्छन्।
आफ्नो रिसोर्टलाई साहसिक पर्यटनको पनि 'केन्द्र' बनाउने योजना छ मोहनको। जग्गासँगै जोडिएको सार्वजनिक क्षेत्रमा चट्टानै चट्टान भएको पाखो छ। जसलाई रक क्लाइम्बिङ 'साइट' बनाउन चाहन्छन्। तर, त्यसका लागि निकुञ्जसँग अनुमति लिनुपर्ने रहेछ।
आफूले भाडामा लिएको ४० रोपनी जग्गा घेर्ने गरी जीपलाइन बनाउने योजना पनि छ। 'भएको सबै जग्गा घेरेर जिपलाइन बनाइयो भने यहाँ आउने पाहुनाले अर्को थप अनुभव पनि लिन मिल्ला भन्ने मेरो सोच हो,' उनी भन्छन्।
रिसोर्टको आधारभूत संरचना बनाउनमै करिब ५० लाख खर्च भइसकेको बताउँछन् मोहन। लगानी अझै बढ्नेछ।
'उमेरले ४३ वर्ष भइयो। सक्रिय लाइफ भनेको अब २० वर्ष त हुने होला!' मोहन भन्छन्, '२० वर्षको सक्रिय जीवन अब शिवपुरीको छेउमै बिताउने हो। त्यसपछि त के–के हुन्छ हुन्छ।'
अहिले महिनामा १० देखि १५ वटा समूह पुग्छन् उनको रिसोर्टमा। शुक्रबार–शनिबार र सार्वजनिक बिदाका बेला छुट्टी मनाउन पुग्नेहरुको गन्तव्य बन्ने गरेको छ उनको रिसोर्ट।
पाहुना आउँदा आफू र श्रीमती खटिन्छन्। पाहुनाहरु बढी नै भए भने बाहिरबाट पनि काम गर्ने मान्छे बोलाउँछन्।
खाना आफैं पकाउँछन्। खाना पकउनेसम्बन्धी कुनै तालिम लिएका छैनन्। तर, रिसोर्टमा पुग्ने जो–कोहीका लागि उनले पस्किने स्वाद 'अमेजिङ' लाग्छ।
'अहिले परिवारकै सदस्यबाट काम भइरहेको छ। विस्तारै सेवाहरु बढाउँदा बाहिरबाट पनि जनशक्ति थप्नुपर्छ होला,' मोहन भन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।