काठमाडौं– काठमाडौंको रत्नापार्कस्थित शान्तिबाटिकामा १९ औं ‘काग सम्मेलन’ गरिएको छ। यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा रत्नापार्कस्थित शान्तिबाटिकामा आज बिहान काग बोलाएर १९ औं काग सम्मेलन गरिएको हो।
सम्मेलनमा कलाकार रमेश दुलालले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा जम्मा पारेका थिए। दुलालले कागको स्वर निकालेर बोलाएपछि कागहरु उनको आवाज भएको ठाउँसम्म आइपुगेका थिए।
दुलालले विगत १८ वर्षदेखि काग तिहारका अवसरमा काग सम्मेलन गर्दै आएका छन्। काग तिहारको दिनमा यमराजको सन्देश बाहकको रुपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिने चलन रहेको छ।
काग तिहारमा कागलाई मीठा मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ। काग सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै दुलालले यसवर्षको काग सम्मेलनको सन्देश ६० कटेका बृद्ध नेताहरुको बिदाई र युवाहरुलाई अवसर भन्ने रहेको बताए।
उनले आगामी वर्ष काग सम्मेलन गरेको २० वर्ष पुग्ने र सो अवसरमा टुँडिखेल वा नारायणटहिटीमा ठूलो कार्यक्रम गर्ने बताए।
केही समयपछि काग सम्मेलन गरी सिंहदरबार र संसद् भवन अवरोध गर्ने सोच रहेको उनको भनाइ छ। कलाकार दुलालले काग सम्मेलनको अवसरमा काग, मयुरका स्वर निकालेर सुनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।