काठमाडौं- हिन्दू धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने तिहारको आज पहिलो दिन काग तिहार हो।
चन्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ। यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ। यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ।
यम यातनाबाट मुक्ति पाउन आजैदेखि घर–घरमा परिवार संख्याका आधारमा यमदीप दान गर्ने विधि छ। यमदीप दान बेलुकी गर्ने प्रचलन रहेको छ।
यमपञ्चकको पहिलो दिन कार्तिक कृष्ण त्रयोदशीमा काग तिहार मनाइन्छ। यस दिन कागलाई मिठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ। कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय परम्परा छ।
आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा काग रुपी महादेवलाई पूजा गर्ने भक्तजनको भिड लाग्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।