काभ्रे- काभ्रेको पनौती नगरपालिका- २ मा सञ्चालन भइरहेको अन्तरपालिकास्तरीय भलिबल प्रतियोगितामा खानीखोला गाउँपालिका, बेथानचोक गाउँपालिका, महाभारत गाउँपालिका र पनौती नगरपालिकाले सेमिफाइनलको यात्रा तय गरेका छन्।
बिहीबार भएको क्वार्टरफाइनलको पहिलो खेलमा आयोजक पनौती नगरपालिका- २ लाई २५-२२, २५-१८ र २५-२० को सोझो सेटमा पराजित गर्दै खानीखोला गाउँपालिका सेमिफाइनलमा प्रवेश गर्यो।
यस्तै, अर्को खेलमा पनौती नगरपालिकाले धुलिखेल नगरपालिकाको न्यु गौखुरेश्वर युवा क्लबलाई २९-२७, २५-१४ र २५-१८ अंकले हरायो।

क्वार्टरफाइनलको तेस्रो खेलमा महाभारत गाउँपालिकाले मण्डनदेउपुर नगरपालिका टिमलाई २५-१८, २३-२५, २५-१९ र २५-२२ ले पराजित गरेको छ।
बेथानचोक गाउँपालिका र बनेपा नगरपालिकाबीचको निकै प्रतिस्पर्धात्मक खेलमा बेथानचोकले बनेपालाई २५-२३, २५-२१, २२-२५ र २५-२३ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
'बेस्ट अफ फाइभ' प्रणालीमा खेलाइएको आजको खेलमा खानीखोलाका मनराज आले मगर, पनौती नगरपालिकाका संस्कार थापा महाभारत गाउँपालिकाका उत्तम राना मगर र बेथानचोक गाउँपालिकाका बिदुर तिमल्सिना 'म्यान अफ द म्याच' भए।
शुक्रबार खानीखोला र पनौती तथा महाभारत र बेथानचोकबीच खेल हुने कुशादेवी युवा क्लबका अध्यक्ष एवं प्रतियोगता मुल आयोजक समितिका सदस्य दीपेश घिमिरेले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।